• फागुन १४, सिन्धुली/कमलामाई नगरपालिका वडा नम्बर ५ को कार्यालयले निःशुल्क प्लम्बर तथा मोटरसाइकल तालिमका लागि आवेदन आह्वान गरेको छ । नगरपालिकाबाट सञ्चालन हुने छोटो अवधिको निःशुल्क व्यवसायिक तालिममा सहभागी हुन इच्छुकका लागि आवेदन आह्वान गरिएको हो ।

    वडा कार्यालयले आइतबार जारी गरेको सूचनामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आव २०८०/८१ मा सूचिकृत भएका बेरोजगार व्यक्तिहरु मध्यबाट न्युनतम रोजगारीमा सहभागी नभएका २५ जना बेरोजगार व्यक्तिहरुलाई तालिममा सहभागी गराइने जनाइएको छ । इच्छुक व्यक्तिहरुले तोकिएको कागजातसहित कमलामाई नगरपालिकाको रोजगार सेवा केन्द्रमा फाराम भरी पेश गर्न अनुरोध गरिएको छ । यही फागुन २४ गतेसम्म आवेदन दिन सकिने वडा कार्यालयले जनाएको छ ।

    फाराम भर्न नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो २ प्रति आवश्यक पर्नेछ । यसैगरी साधारण लेखपढ गर्न जान्ने १८ देखि ५९ वर्ष उमेरभित्रको हुनुपर्ने, बेरोजगार प्राथमिकताक्रममा सूचिकृत भएको हुनपर्ने र चालु आवको न्यूनतम रोजगारीमा संलग्न नरहेको हुनुपर्ने पनि सूचनामा उल्लेख छ ।