• फागुन ११, सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकाले माझि समुदायको राष्ट्रिय पर्व कोशी पूजा (लदि ) को अवसरमा सार्वजनिक विदा दिने भएको छ । फागुन १५ गते माझि समुदायको राष्ट्रिय पर्व कोशी पूजाको दिन मरिण गाउँपालिकाको गाउँकार्यपालिकाले स्थानिय विदा दिने निर्णय गरेको हो ।

    माझि समुदायको बहुल्यता रहेको मरिण गाउँपालिकाले बिहीवार एक सुचना मार्फत कोशी पूजाको अवसरमा विदा दिने जानकारी दिएको छ । माझि समुदायले मरिणको छापमा विशेष कोशी पुजा गरेर मनाउने गरेका छन् । सो पूजाको अवसरमा खोलामा गएर जल देवताको पूजा, शिनेभुमे, गणेश, शिव तथा स्थानीयको देवता, पन्चकन्या पोखरीमा पूजा गरिने नेपाल माझि उत्थान संघ जिल्ला कार्यसमिती सिन्धुलीका अध्यक्ष बबिन्द्रलाल माझीले बताउनु भयो ।

    “यस अवसरमा जल देबतालाई पुजाआज गरी प्रसाद ग्रहण गर्न चलन रहेको छ। यसरी पूजा गर्नुको उदेश्य जल देवतालाई खुशी पारेमा अन्न बाली सप्रने, मानिस स्वस्थ रहने धार्मिक विश्वास छ । ” अध्यक्ष माझीले भन्नुभयो । वि.सं. २०६४ सालमा मात्रै मरिण खोलामा कोशी पूजा मनाउन सुरु गरिएको भएपनि हाल मरिणका खोलाहरुमा ५० ठाउँभन्दा बढी स्थानमा पूजाआज गरिने उहाँले सुनाउनु भयो ।

    अध्यक्ष माझिका अनुसार सिन्धुली जिल्लाभर १२ हजार भन्दाबढि माझी समुदायको बसोबास गर्दछन् । नेपालको माझिहरुको कुल जनसंख्या मध्ये सबैभन्दा बढि सिन्धुलीको मरिणमा बसोबास गर्दछन् । कोशीको किनारमामात्रै सीमित माझी समुदाय पछिल्लो समयमा विकसित क्षेत्रमाहरूमा तिब्र बसाइ सर्ने गरेका छन्।

    विभिन्न ठाउँमा छरिएर रहेका माझी समुदायको जनसंङ्ख्यामा वृद्धि हुँदै गएको छ । अति सीमान्तकृत माझी समुदायको उत्थान तथा जनसंङ्ख्या वृद्धि गर्नको लागि सरकारले विशेष सहयोग गर्नुपर्ने माझिले आग्रह समेत गर्नुभयो । पछिल्लो समय जिल्लाको हरिहरपुरगढी गाउँपालिका, दुधौली नगरपालिका, सुनकोशी, तीनपाटन, गोलोन्जोर गाउँपालिका कमलामाई नगरपालिका र फिक्कल गाउँपालिकामा पनि लदि अर्थात कोशी पूजा मनाउन थालेका छन् ।

    यस्तै नेपाल माझि उत्थान संघ जिल्ला कार्यसमिती सिन्धुलीले फागुन १३ गते कोशी पूजाको अवसरमा मरिण गाउँपालिकामा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।