• फागुन ३, सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित सिद्धबाबा माध्यमिक विद्यालय पानीट्याङ्कीले ३५ औं बार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ ।

    विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवं कमलामाई नगरपालिका ६ का वडा अध्यक्ष उज्वल कुमार थापाको अध्यक्षता तथा जिल्ला समन्वय समिति सिन्धुलीकी उपप्रमुख शान्ता कार्कीको प्रमुख आतिथ्यतामा ३५ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । कार्यक्रमको अवसरमा शैक्षिक प्रदर्शनी, सांस्कृतिक कार्यक्रम लगायत विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको छ ।

    विद्यालयको वार्षिकोत्सवको अवसरमा कमलामाई नगरपालिका ७ बुद्धनगर निवासी राजेश मास्के र उहाँकी श्रीमती उषा ताम्राकारले आफ्ना अग्रज पुस्ताहरु बुवा चिरन्जीवी मास्के, ससुरावुवा स्वर्गीय निल कुमार ताम्राकार, स्वर्गीय सासुआमा सितादेवि ताम्राकार र स्वर्गीय आमा दया मास्केको स्मृतीमा विद्यालयमा अक्षय कोष स्थापनाको लागि ५० हजार ५ सय ५५ रुपैयाको चेक हस्तान्तरण गर्नुभएकाे छ ।

    सिद्धबाबा माविमा अध्यनरत विपन्न, गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति उपलब्ध गराउने उद्देश्यले अक्षय कोष स्थापना गर्न लागिएको राजेश मास्केले जानकारी दिनुभयो । कार्यक्रमको अवसरमा विद्यालयमा अक्षय कोष स्थापना गर्ने दाताहरु, विद्यालय प्रांगणमा सरस्वतीको मन्दिर निर्माणको लागि सहयोग पुर्याउने दाताहरु, विद्यालयले स्थापना गर्न लागेको ५० लाखको अक्षय कोषमा सहयोग पुर्याउनुहुने व्यक्तित्वहरु, विद्यालयकाे प्रचार प्रसारमा सहयोग पुर्याउने पत्रकारहरु, उत्कृष्ट विद्यार्थी, असल अभिभावक लगायतलाई सम्मान गरिनुका साथै विद्यार्थीहरुलाई प्रदान गरिँदै आएको छात्रबृत्ति समेत प्रदान गरिएको छ ।

    कार्यक्रममा कमलामाई नगरपालिकाका निवर्तमान नगर प्रमुख खड्ग बहादुर खत्री, बागमती प्रदेशका पूर्व स्वास्थ्य मन्त्री प्रदिप कटुवाल, कमलामाई नगरपालिका शिक्षा शाखा प्रमुख शंकरराज लुइटेल, पूर्व विद्यार्थी, पूर्व शिक्षक, पूर्व विद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो ।