• फागुन १, सिन्धुली/२९ औं जनयुद्ध दिवसको अवसरमा मरिण गाउँपालिकाले सहिद परिवार सम्मान एवं नगद हस्तान्तरण र छात्रवृत्ति वितरण गरेको छ । मरिण गाउँपालिका अध्यक्ष विमर्श मोक्तान(प्रख्यात)को अध्यक्षता तथा बागमती प्रदेश सांसद मातृका भट्टराई (बसन्त) को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सो गाउँपालिकाका ३९ जना सहिद परिवारलाई नगद हस्तान्तरण र ७१ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो ।

    कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका सांसद भट्टराईले देश र जनताको हित र अधिकारका लागि जनयुद्धमा जिवन त्याग गर्ने सहिद प्रति १ दिन मात्रै नभई हरेक दिन सम्मान गदैँ सहिदहरुले देखाएको बाटोमा अघि बढिरहेको बताउनुभयो ।

    संघीय गणतन्त्र प्राप्तिको लागि सहिदको महत्वपूर्ण भूमिका भएको हुँदा शहिदहरुको योगदानको कदरको लागि मरिण गाउँपालिकाले प्रत्येक वर्ष कार्यक्रम गर्दै आइरहेको छ । सो अवसरमा ३९ जना सहिद परिवारलाई सम्मान गर्नुका साथै प्रतिव्यक्ति २० नगद हस्तान्तरण गरिएको हो । अध्यक्ष मुक्तानको कार्यकालभर सहिद परिवारलाई एक लाख रकम पुर्याउँने लक्ष्य राखिएको छ ।

    मरिण गाउँपालिका स्थायी ठेगाना भई विभिन्न विद्यालयमा अध्ययन गर्ने अनाथ तथा द्धन्द्ध पीडित परिवारका बालबालिकालाई अध्ययनमा निरन्तरताको लागि छात्रवृत्ति वितरण गरिएको मरिण गाउँपालिकाका अध्यक्ष मोक्तानले जानकारी दिनुभयो । पूर्व प्रा. वि देखि कक्षा १२ सम्मका ७१ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो ।

    पूर्व प्रा. वि देखि कक्षा ३ सम्मका २४ जना विद्यार्थीलाई प्रतिव्यक्ति पाँच हजार रुपैयाँ, कक्षा ४ देखि ५ का १० जना विद्यार्थीलाई प्रतिव्यक्ति ६ हजार रुपैयाँ वितरण अध्यक्ष मोक्तानले बताउनु भयो ।
    यस्तै ६ देखि ८ सम्मका २१ जना विद्यार्थीलाई प्रतिव्यक्ति ८ हजार, ९ देखि १० कक्षा सम्मका १२ जना विद्यार्थीलाई प्रतिव्यक्ति ९ हजार र ११ देखि १२ सम्मका ४ जना विद्यार्थीलाई प्रतिव्यक्ति ११ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ ।