• माघ २५, मकवानपुर/ट्राफिक सप्ताह २०८० को आज हेटौंडामा उद्घाटन गर्दै बागमती प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले सडक दुर्घटनामा गतसालको तुलनामा कमी आए पनि बागमती प्रदेशमा यस वर्ष मात्रै १६७ जनाको ज्यान गैसकेको जानकारी दिनु भयो । उहाँले नेपालमा सवारी दुर्घटनामा परेर दैनिक ७ जनाले ज्यान गुमाउने गरेको तथ्यांक पनि बताउनु भयो । दिनप्रतिदिन बढ्दै गएको जनसंख्या, शहरीकरण र त्यो सँगसँगै बढ्दो सवारी चापको कारण दुर्घटनामा खासै कमी नआएको कुरा बताउनु भयो ।

    मन्त्री श्रेष्ठले सडक दुर्घटनाको मुख्य कारण सडक प्रयोगकर्ताहरूले ट्राफिक नियमको पालना नगर्नाले हुने गरेको बताउनु भयो । सवारी चालकहरूले लागु औषध प्रयोग गरेर सवारी चलाउने, ट्राफिक नियम पालना नगर्ने, सवारी साधनको नियमित परीक्षण नगर्नेजस्ता समस्याका साथसाथै भौगोलिक स्थिति, सडकहरूको खराब अवस्थाको कारणले पनि सवारी दुर्घटना हुने गरेको बताउनु भयो ।

    मन्त्री श्रेष्ठले सडक दुर्घटना न्यूनीकरणका लागि आन्तरिक मामिला मन्त्रालयले समुदाय स्तरमा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको तर अब आगामी वर्षदेखि ट्राफिक व्यवस्थापनलाई सुदृढ एवं सहज बनाउन यातायात व्यवस्था कार्यालय, सडक कार्यालय, स्थानीय तह, विभिन्न संघसंस्था, आम सडक प्रयोगकर्ता, सञ्चार माध्यम र सम्बन्धित सरोकारवाला साथै अन्य निकायहरूलाई समेटेर `एकीकृत विशेष कार्ययोजना´ सञ्चालन गरिने कुरा बताए । उनले सबैभन्दा बढी दुर्घटना मानवीय कारणबाट हुनेहुँदा चालकको
    दक्षता अभिवृद्धि एवं चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने साथै समयानुकूल सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन परिमार्जन गर्न आफूले पहल गर्ने कुरा पनि बताउनु भयो ।

    मन्त्री श्रेष्ठले माध्यामिक तहको पाठ्यक्रममा ट्राफिक शिक्षा राखेर सवारी दुर्घटना हुनबाट बचाउन जिम्मेवार नागरिक उत्पादन गरिने कुरा समेत बताए । त्यसका लागि विशेषगरी स्थानीय तहसँग समन्वय र सहकार्य गर्ने जानकारी पनि दिनुभयो ।

    ट्राफिक व्यवस्थापनका लागि प्रविधिको अधिकतम् प्रयोग गर्नका लागि प्रदेश सरकारले विशेष बजेटको व्यवस्था गर्ने कुरा पनि बताए । आव २०८०/०८१ मा पनि ट्राफिक प्रहरीलाई आवश्यक पर्ने उपकरणहरू खरिदको प्रक्रिया अघि बढाएको, दुर्घटनाको उच्च जोखिम भएका सडकहरूमा ५ वर्ढभित्र सिसिटीभी जडान गरिसक्ने त्यसका लागि प्रारम्भिक सर्भे सम्पन्न भई यसपालि क्यामेरा खरिद प्रक्रिया अघि बढेको जानकारी पनि दिनुभयो। मन्त्री श्रेष्ठले बागमती प्रदेशमा आगामी ५ वर्षभित्र सवारी दुर्घटना ५० प्रतिशतले घटाउने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो ।

    कार्यक्रममा श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण हुमागाईँ, हेटौंडा उपमहानगर पालिकाका प्रमुख मीना लामा, आन्तरिक मामिला मन्त्रालयका सचिव ध्रुव गैंडा, मकवानपुर जिल्लाका प्रजिअ सूर्य सेढाई, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विष्णु कुमार केसीलगायतको उपस्थिति रहेको थियो ।