• माघ २४, सिन्धुली/ठेकेदारको लापरवाहीले कमलामाई नगरपालिका–३ स्थित जलकन्या माविको शैक्षिक वातावरण प्रभावित भएको छ । विद्यालय भवन निर्माणको जिम्मा पाएको टिडिआई एएनएस जेभीले समयमा काम नसक्दा पठनपाठनमा समस्या भएको विद्यालय प्रशासनले जनाएको छ ।
    सम्झौता अनुसार सम्पन्न गर्नुपर्ने मितिभन्दा एक वर्ष बढी समय बित्दासमेत भवन निर्माण सकिएको छैन । एसियाली विकास बैंक (एडिबी)को ६ करोड ९४ लाख ९८ हजार १९९ रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोगमा विद्यालय भवन निर्माण भइरहेको छ । सो कार्यका लागि केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) र टिडिआई एएनएस जेभीबीच सन् २०२१ नोभेम्बर २ मा ठेक्का सम्झौता भएको थियो । सम्झौतामा निर्माण सम्पन्न गर्नुपर्ने मिति २०२३ फेब्रुअरी १८ उल्लेख गरिएको छ । तर उक्त मिति गुज्रिएको एक वर्ष बितिसक्दा पनि ठेकेदारले भवन तयार पारेको छैन ।
    ‘ठेकेदारले अति नै लापारवाही गरेको देखिन्छ । कहिले सामान सकिएको भन्दै तीन महिनासम्म काम रोकिन्छ, त कहिले बजेट नआएको कारण देखाउँदै काम रोक्छ,’ ३ नम्बर वडाका कार्यबाहक वडाध्यक्ष शोभा स्याङ्बोले भन्नुभयो । सम्बन्धित निकायबाट अनुगमन नहुँदा ठेकेदारले मनपरी गरेको उहाँले गुनासो गर्नुभयो ।
    विद्यालयका प्रधानाध्यापक प्रेमकुमार आचार्यले निर्माण कम्पनीले ढिलासुस्ती गरेको भन्दै खबरदारी गरे पनि बेवास्ता गरिरहेको बताउनुभयो । ‘एडिबीको इन्जिनियर आउँदा काम ढिलासुस्ती भएको जानकारी गराउँदा ठेकेदारको भाषा बोल्छन् । ठेकेदारलाई सम्पर्क गर्दा सम्पर्कमा आउँदैनन्,’ प्रधानाध्यापक आचार्यले भन्नुभयो ।
    हाल विद्यालयसँग भएको भवन विद्यार्थीका लागि अपुग भएको उहाँले बताउनुभयो । भवन नहुँदा शैक्षिक तथा अतिरिक्त क्रियाकलाप प्रभावकारी रुपमा सञ्चालन गर्न समस्या भएको उहाँको गुनासो छ । ‘साँघुरो स्थानमा पठनपाठन गराउन बाध्य छौं, लगभग अझै ४० प्रतिशत काम सम्पन्न हुन बाँकी नै छ,’ उहाँले भन्नुभयो ।
    निर्माण कम्पनीले पुनः निर्माण सम्पन्न मिति कति, कहिलेसम्म थपिएकोसमेत जानकार नभएको प्रधानाध्यापक आचार्यले बताउनुभयो । ठेकेदारलाई बारम्बार सम्पर्क गर्न खोज्दा हालसम्म सम्पर्कमा नआएको उहाँको भनाइ छ ।
    यसबारे बुझ्न सिन्धुलीखबर सम्वाददाताले ठेकेदार र एडिबीका इञ्जिनियरलाई टेलिफोन गर्दा उहाँहरु सम्पर्कमै आउन चाहनुभएन ।