• माघ १४,सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर २ खरिन्टारमा आगोले जलेर घर र गोठ पुर्ण रुपमा नष्ट भएको छ । स्थायी घर घ्याङ्लेख गाउँपालिका वडा नम्बर १ बुक्ति भई खरिन्टार बस्दै आउनु भएका ५२ बर्षीय पदम बहादुर पाख्रिनको शनिबार आगोले जलेर घर र गोठ पुर्ण रुपमा क्षति भएको हो ।
    गोठ बाट घरमा सल्किएको आगोले ढुङ्गा, माटोले बनेको दुईतले घर जल्दा घरभित्र भएको १ लाख भन्दा बढी नगद, गरगहना, भाँडाकुडा, लत्ताकपडा सम्पुर्ण बस्तु जलेर नष्ट हुँदा १० लाखको क्षति भएको पिडितले दाबी गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
    अग्नि पिडित पाख्रिनको छोरीको ७ बर्षीय बालकले आगो खेलाउने क्रममा पराल राखिएको गोठमा आगो सल्किएको पिडितको भाई तिर्थ बहादुर पाख्रिनले जानकारी दिनुभयो ।
    यस्तै घ्याङ्लेख गाउँपालिकाकोे सिमानामा पर्ने खरिन्टार स्थित अग्नि पिडित पदम बहादुर पाख्रिनको घरमै पुगेर घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलान राहत प्रदान गर्नुभएको छ ।
    उपाध्यक्ष घलान सहित १ नम्बर वडाका वडा अध्यक्ष सोम बहादुर भोलन, २ नम्बरका अध्यक्ष रोशन कुमार भोलन लगायतले घरमै पुगेर अग्नि पिडितको परिवारलाई चामल, चिउरा, नुन तेल लगायत अत्यावश्यक सामाग्री प्रदान गर्नुभएको हो ।
    उपाध्यक्ष घलानले अन्य राहातको लागि पहल गरिने समेत बताउनु भएको छ ।