• माघ ८, सिन्धुली/सिन्धुली क्षेत्र नं. २ का प्रतिनिधीसभा सदस्य लेखनाथ दाहाल (राजन) ले जहाँ कृषिमा लगानी गरेर परिणाम देखिन्छ त्यहि मात्रै लगानी गर्ने निति निर्माण गर्नुपर्ने जोड दिनुभएको छ ।

    उहाँले लगानी गरेर परिणाम नआउने ठाउँमा लगानी रोक्नुपर्ने बताउनु भएको हो । दोस्रो राष्ट्रिय कृषि जैविक बिबिधता दिवसको अवसरमा कृषि ज्ञान केन्द्र सिन्धुलीमा रैथाने बाली र परिकार प्रर्दशनी कार्यक्रममा दाहालले कृषिमा उत्पादन बढाउन कृषकलाई आधुनिक प्रणाली तर्फ डोहो¥याउन आवश्यक रहेको बताउनु भयो ।

    उहाँले सरकारको उदेश्यनै कृषिमा आत्मानिर्भर बनाउने रहेकाले सम्बन्धीत पालिकाहरुलाई आयात र निर्यात डाटा राखी आयात हुने सामाग्री स्थानीय स्तरमा उत्पादन हुने गरेको भए उत्पादनमा जोड दिनको लागि प्रोत्साहन गर्नुपर्ने उहाँको भनाई छ । प्रांगारीक मल प्रयोग गरि उत्पादन गर्ने कृषिकलाई प्रोत्साहन गर्दै कृषकहरुलाई सम्मान गर्नुपर्ने उहाँको भनाई छ ।

    सरकारले उत्पादनको आधारमा अनुदानको ब्यवस्था गर्ने उहाँले बताउनुभयो । दिवसको अवसरमा कृषि ज्ञान केन्द्र सिन्धुलीको आयोजना तथा सौगात लघु उद्यम सहकारी संस्था लिमीटेडको साझेदारीमा रैथाने बाली र परिकार प्रर्दशनीको आयोजना गरिएको थियो ।

    कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामाको अध्यक्षता तथा सिन्धुली क्षेत्र नं. २ का प्रतिनिधीसभा सदस्य लेखनाथ दाहाल (राजन)को प्रमुख आतिथ्यता रहेको थियो । प्रर्दशनीमा काठको ठेकी, जातो, सिलाउटो, रैथाने गेडागुडीहरु, फापर, मकैको च्याख्ला, सिस्नो लगायतका सामाग्रीहरु राखीएको थियो ।

    कार्यक्रममा मुना कृषि लिमीटेडकी सिता पाण्डे र कृषि ज्ञान केन्द्रका प्रमुख अरुण खनालले रैथाने बालीको महत्व, प्रवर्धन लगायतको बिषयमा प्रस्तुतीकरण राख्नुभएको थियो । कार्यक्रमको अवसरमा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार २०८० को लागि छनोट भएका ३ जना कृषकहरुलाई सम्मान सहित पुरस्कार समेत वितरण गरिएको छ ।