• पौष २८, सिन्धुली/दलित सेवा संघका केन्द्रीय अध्यक्ष सन्जुसिं विश्वकर्माले दलित समुदायका मुद्धालाई अन्तर्राष्ट्रियकरण गरिने बताउनुभएकाे छ ।

    शुक्रबार दलित सेवा संघ सिन्धुलीको आठौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष विश्वकर्माले राज्यपक्षबाट जातीय विभेद विरुद्धका ऐन तथा कानूनहरु पूर्णरुपमा कार्यान्वयन नगरे आफूहरु आन्तर्राष्ट्रिय अदालतसम्म जान बाध्य हुने चेतावनी दिनुभयो । ‘जातकै आधारमा हुने विभेदका कारण दलित समुदायले ज्यान गुमाउनु पर्ने, विस्थापीत हुनुपर्ने र यातना भोग्नुपर्ने अवस्था आउँदा पनि सरकार र कानून कार्यान्वयन गर्ने निकायबाटै दलितका मुद्धामाथि जिम्मेवार बन्न सकेकाे छैन । यदी यस्तै हो भने नेपालका सिंगो दलित समुदाय अन्तर्राष्ट्रिय अदालत जान बाध्य हुनेछन्,’ अध्यक्ष विश्वकर्माले भन्नुभयो ।

    दलित भएकै कारण अजित मिजार, नवराज विक जस्ता दलितको हत्या हुँदा पनि सरकारी निकाय र अदालतबाट पिडकलाई समयमा कानूनी दायरामा ल्याउन नसकेको स्मरण गर्दै अध्यक्ष विश्वकर्माले राज्य, नीति निर्माण र कार्यान्वयन तहबाटै त्यस्ता मुद्धालाई होल्ड गरेर राख्नु दुःखदायी भएको टिप्पणी गर्नुभयो । ‘हामी दलित समुदायको अधिकार प्राप्तिका लागि आन्दोलनको मैदानमा छौं । दलित समुदायमाथि प्रथा, परम्परा, धर्म, संस्कृति, रितिरिवाज, जातजाती, वंश वा पेशाका आधारमा कुनै पनि भेदभाव तथा छुवाछुत गरे यस्ता मुद्धालाई हामी अन्तर्राष्ट्रिय अदालतसम्म पुर्याउन बाध्य हुनेछौं ’ अध्यक्ष विश्वकर्माले भन्नुभयो ।
    सरकारले छुवाछुत मुक्त राष्ट्र घोषणा गरेपनि जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ पूर्ण रुपमा कार्यान्वयन हुन नसक्नु दुःखद पक्ष रहेको उहाँको भनाई छ ।

    यसैविच अधिवेशनले दलित सेवा संघ सिन्धुलीको अध्यक्षमा हेमलाल विकलाई सर्वसम्मत चयन गरेको छ । विकको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । संघको उपाध्यक्षमा बाबुराम नेपाली र नन्दकुमारी परियार, सचिवमा भेषलाल विक, कोषध्यक्षमा संजु विक, सहसचिवमा उमेश परियार र सदस्यहरुमा निर्मला विक, मोहन बैजु, उमेश रम्तेल, उषा विक, उमा विक, शंकर विक, दिपक विक लगायत चयन भएका छन् । दुई नगरपालिका सहित नौं वटा स्थानीय तह रहेको सिन्धुलीमा मात्र करिव ३७ हजार दलित समुदायको बसोबास रहेकाे छ।