करदाता कार्यालय सिन्धुलीले लक्ष्य भन्दा बढी कर संकलन गर्‍यो

पुस २४, सिन्धुली/करदाता सेवा कार्यालय सिन्धुलीले लक्ष्य भन्दा बढी कर संकलन गरेको छ । आन्तरिक राजस्व विभागले करदाता सेवा कार्यालय सिन्धुलीलाई चालु आर्थिक बर्षको मंसिर महिना सम्म कर संकलनकाे लागि निश्चित लक्ष्य दिएकाे थियाे ।

विभागले चालु आर्थिक बर्षको मंसिर महिनासम्म २४ करोड ६५ लाख कर संकलनको लक्ष्य तोकिदिएकोमा कार्यालयले २४ करोड ७८ लाख कर संकलन गर्न सफल भएको करदाता सेवा कार्यालय सिन्धुलीका कर अधिकृत दिपेन्द्र पुनले जानकारी दिनुभयो । गत आर्थिक बर्षमा विभागले ५७ करोड लक्ष्य तोकिदिएकोमा ७१ करोड संकलन गर्न सफल भएपछि आन्तरिक राजस्व विभागबाट सिन्धुली जिल्लालाई तेस्रो जिल्लाको रुपमा घोषणा गरिएको थियो ।

यो बर्ष विभागले करदाता सेवा कार्यालय सिन्धुलीलाई ८८ करोड कर संकलनको लक्ष्य तोकिदिएको कर अधिकृत पुनले बताउनु भयो । गत बर्ष भन्दा राम्रो स्थान प्राप्त गर्नेगरि काम गर्ने लक्ष्य रहेको उहाँले बताउँनुभयाे। “मंसिरसम्म तोकिदिएको कर संकलन कार्य हामीले लक्ष्य भन्दा पनि बढी नै प्राप्त गरेका छौँ । अव बार्षिक रुपमा तोकिदिएको लक्ष्य प्राप्तिको लागि संघर्ष गरिहरेका छौँ । तोकिएको लक्ष्य भन्दा बढी नै कर संकलन गरेर गत आर्थिक बर्षको भन्दा पनि राम्रो स्थानमा पर्ने हाम्रो लक्ष्य हो” कर अधिकृत पुनले सिन्धुली खबरलाई बताउनु भयो ।

कर कार्यालयबाट कर संकलनको निम्ति कर शिक्षा, सचेतनामुलक कार्यक्रम, पालिकामा दर्ता भएको तर करको दायरामा नआएका तथा कर दाखिला समयमानै नगर्ने करदाताहरुलाई भेटेरै कर तिर्नेको निम्ति अनुरोध गर्ने गरिएको छ । अन्य जिल्लाको तुलनामा सिन्धुलीका करदाताहरुमा राज्यको आम्दानीको प्रमुख स्राेत नै कर हो भन्ने ज्ञान छ तर तिर्न उत्साहित नहुने व्यवसायीहरु पर्याप्त भएकाले कर संकलनमा समस्या देखिएको कर अधिकृत पुनकाे भनाइ छ। आर्थिक मन्दिको समय भएकाले लक्ष्य अनुसारको कर संकलनमा चुनौती रहेको वहाँकाे भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *