• पुस ९, सिन्धुली/राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रिय सदस्य तथा प्रनिनिधिसभा सदस्य डाक्टर चन्दा कार्कीले जनताका मुद्दामा दलभन्दा माथि उठेर काम गर्ने बताउनु भएको छ । भेटघाटका क्रममा आज सिन्धुलीमाढीमा आइपुग्नु भएकी सांसद कार्कीले दलले गलत गर्छ भने त्यसको बिरुद्ध उभिन तयार रहेको बताउनु भएको हो ।
    देश र जनताका हितका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिन सक्नुपर्ने बताउनु समेत बताउनु भएको छ । यदि फरक दलले देश र जनताको हितमा उभिन्छ भने सदैव साथ र सहयोग गरिने सांसद कार्कीले बताउनु भयो ।
    सदनका सवालमा कुरा गर्नुहुँदै उहाँले भन्नुभयो “जनताको समस्या सम्बोधन गर्ने भन्दा पनि व्यक्तिगत स्वार्थ र पदको लागि तछाडमछाड गरिरहेको देखिन्छ । जुनकुनै दलले पनि जनता र देशको हितको लागि अघि बढ्छ भने साथ दिनुपर्ने हो । तर फरक दलले उठाएको कुरा हो भन्नेबित्तिकै विरोधमा उत्रिन्छन् । ”
    उहाँले नेपाल सरकारले नेपाली जनताहरुलाई स्वास्थ्य उपचार सेवा निशुल्क प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । पटक पटक संसदमा नेपाली जनताको स्वास्थ्यको जिम्मा नेपाल सरकारले लिनुपर्ने कुरा उठान गरेपनि सुनुवाई हुने नगरेको बताउनु भयो ।
    गठबन्धनको सरकार पदमा लिप्त भए तर औषधी उपचार गर्न नसकेर बर्षेनी नेपालीहरुको मृत्यु भएको खबरमा बेखबरनै बसिरहेको सांसद कार्कीको भनाई छ ।
    सांसद डाक्टर कार्की ३५ वर्ष प्रसूति एवं स्त्रीरोग विशेषज्ञका रूपमा आवद्ध हुनुहुन्यो । स्वास्थ्य सेवामा लामो समय बिताउनु भएको उहाँले राजनीतिक गतिविधिसँग अभ्यस्त भए पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध भएर देश र जनताको लागि केहि दिन सक्छु भन्ने हेतुले राजनितिमा प्रवेश गरेको बताउनु भयो ।
    स्वास्थ्य, शिक्षा र भ्रष्टाचारका विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराउँदै आउनु भएको छ । भ्रष्टाचार नै समस्याको मूल जड भएको उहाँको भनाई छ । स्वास्थ्य, शिक्षा र रोजगारीको प्रवर्धन गर्नुपर्ने राज्य नै भ्रष्टाचारमा लिप्त हो कि भन्ने आशंका आमजनतामा उब्जिएको छ। विद्यमान समस्या र चुनौती कसरी समाधान गर्ने भन्नेमा कसैको ध्यान नभएको सांसद कार्कीले आक्रोस पोख्नुभयो ।