गोलन्जोर गाउँपालिकाको प्रशासकीय भवनको सिलन्यास
पुस ८, सिन्धुली/सिन्धुलीको गोलन्जोर गाउँपालिकाको प्रशासकीय भवनको आज शिलान्यास गरे सँगै निर्माण सुरु भएको छ । गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बराल, उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने लगायतको उपस्थितीमा आज एक औपचारिक कार्यक्रमका बिच प्रशासकीय भवनको शिलान्यास गरिएको हो ।
गोलन्जोर गाउँपालिका ३ ग्लाल्टारमा निर्माण थालिएको भवनको पाइनस कन्ट्रक्सन प्राली काठमान्डौँले भ्याट सहित ६ करोड ९५ लबखथ १५ हजार ८ सय २० रुपैयाँमा निर्माण जिम्मा पाएको छ । उक्त कम्पनीले आगामी २०८२ भाद्र (२ बर्ष) भित्र भवनको निर्माण कार्य सम्पन्न गर्नेगरी काम सुरु गरेको गोलान्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले जानकारी दिनुभयो ।
उक्त भवन निर्माणका लागि संघिय सरकारको ६० प्रतिशत र स्थानीय पालिकाको ४० प्रतिसत अनुदानमा निर्माण सम्पन्न हुनेछ । सिन्धुलीका नौँ वटै पालिका मध्ये ८ वटाले आफ्नै भवन निर्माण गरीसकेपनि गोलन्जोर गाउँपालिकाले स्थानियतह सुरु भएको ६ बर्ष पछि बल्ल आफ्नो भवन निर्माण कार्य सुरु गरेको हो ।
यस अघि पटक पटक भवन निर्माणका ठेक्का प्रकृया सुरु गरिएपनि विभिन्न कारण सुरु हुन नसकेको गाउँपालिकाका उपाध्यक्ष पुकार प्रसाद न्यौपानेले बताउनु भयो । ३ सय ७४ दशमलव ५ वर्गमिटर क्षेत्रफलमा बनिने प्रशासकीय भवन ४ तलाको हुनेछ भने हल सहित ३८ वटा कोठा रहने गालन्जोर गाउँपालिकाका इन्जीनियर शुशिल प्रसाद शर्माले जानकारी दिनुभयो । साथै भवन अपाङ्गमैत्री र बालमैत्री रहने छ । गाउँपालिकाको प्रशासकीय कार्य हाल भाडाको घरमा संचालन हुँदै आएको छ ।