• पुस ४, सिन्धुली/सिन्धुली बहुमुखी क्याम्पस सिन्धुलीका विद्यार्थीहरु आन्दोलित भएका छन् । बिबिएस प्रथम बर्षका विद्यार्थीहरुले उपप्राध्यापकहरुले पढाएकोे नबुझेको भन्दै कक्षा बहिस्कार गदैँ आन्दोलित भएका हुन् ।

    विद्यार्थीहरुले अध्ययनका सन्दर्भमा पाठ्यक्रमको कुरा सहज ढंगबाट बुझ्न पाउनु आफुहरुको अधिकार हो भन्दै कक्षा सन्चालन भएको १ महिना हुँदा सम्म दुईवटा बिषय बुझ्न असहज भएकोले कक्षा बहिष्कार गरिएको विद्यार्थी राधिका राउतले बताउनु भयो ।

    बिजनेस स्टाटिस्टिक्स र बिजनेस कम्युनिकेसन इङ्लिस दुईवटा बिषय नबुझेपछि यसभन्दा अगाडि पनि मौखिक रुपमा क्याम्पस प्रमुख सँग गुनासो गरेपनि वेवास्ता भएकोले उक्त विषय पढाउने प्राध्यापकहरू परिवर्तन गरी कक्षा अगाडि बढाउनुपर्ने मागसहित निमित्त क्याम्पस प्रमुख उमेश कोइराला र व्यवस्थापन संकायका विभागीय प्रमुख कृष्ण प्रसाद अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

    “उक्त विषयहरूको पठनपाठनमा लामो समयदेखि समस्या भएको भन्दै विद्यार्थीहरूले असन्तुष्ट जनाउँदै आएका थिए । यस पटक भने विद्यार्थीहरूले लिखित रूपमै असहमति जनाएका हुन् । विगतका वर्षहरूमा पनि यस क्याम्पसमा गुणस्तरीय शिक्षा नभएको भन्दै असन्तुष्ट विद्यार्थीहरू नजिकैको अर्को बिबिएस अध्ययन हुने क्याम्पसमा पलायन हुने गरेका थिए । ” स्ववियु सभापति कृष्ण लामिछानेले भन्नुभयो ।

    गुणस्तरीय शिक्षा नभएको विद्यार्थीको गुनासो आएपछि योग्य शिक्षक ल्याउने जिम्मेवारी क्याम्पस प्रशासनको रहेको सभापति लामिछानेले बताउनु भयो । विद्यार्थीको पटक पटकको गुनासो आएपछि शिक्षकहरूले नैतिकताका आधारमा पनि कक्षा छोड्नुपर्ने बताउनुभयो । यो समस्या विगत लामो समय देखिएको भन्दै विद्यार्थीको भविष्य कसैको जागिरसँग साट्न नपाइने उहाँको भनाई छ ।