• पुस १,सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिकामा पछिल्लो समय गाई,भैसी पालक कृषकको संख्यामा बृद्धि भएको पाइन्छ । आर्थिक बर्ष २०७९/८० मा मात्रै ६ सय ५० गोटा गाई,भैँसीको कृषकहले सुत्केरी भत्ता लिएका छन् । अघिल्ला बर्षहरुमा ४ सय गोटा सुत्केरी गाई,भैँसीको भत्ता लिएका थिए ।

    नगरपालिकालाई दुग्ध क्षेत्रमा आत्मनिर्भर गराउने उदेश्यले कमलामाई नगरपालिकाले स्थानियतह भएसँगै कृषकलाई गाई,भैँसी लाई सुत्केरी भत्ता दिन थालेको थियो । पहिले १ हजार रुपैयाँ दिइने गरिएकोमा हाल सो रकम बढाएर २ हजार पुगेको कमलामाई नगरपालिकाका पशु प्राविधिक अर्जुन थापाले बताउनु भयो ।

    चालु आर्थिक बर्षको ५ महिनामा २ सय २५ गोटा गाई भैँसी को भत्ता लिएको प्राविधिक थापाले बताउनु भयो । सुत्केरी भएका पशुले सो अवधिमा पोषणयुक्त आहार तथा दाना खान पाउन् र दुध उत्पादक कृषकहरुलाई प्रोत्साहन होस् भनेर प्रति सुत्केरी पशुलाई दुई हजार रुपैयाँका दरले नगरपालिकाले भत्ता दिइरहेको छ ।

    कमलामाई नगरपालिका दुग्ध उत्पादनको लक्ष्यमा पुगेको छ । नेपालको सन्दर्भमा प्रति व्यक्ति,प्रति बर्ष ९१ दशमलव २ लिटर दुध आवश्यकता पर्नेमा समग्र नेपालमा ७९ लिटर मात्रै उत्पादन हुन्छ भने कमलामाई नगरपालिकामा ९१ दशमलव ४ लिटर दुध उपलब्धता हुने गरेको प्राबिधिक थापाको भनाई छ ।

    सिन्धुलीका बिभिन्न बजार तथा जिल्ला बाहिर दुधको माग बढे सँगै पशु पालक कृषक पनि बढेका छन् । कमलामाई नगरपालिकाको बिशेषगरी वडा नम्बर ४, ५, ७, ८ र ९ नम्बर वडामा व्यवसायिक रुपमै गाई, भैँसी पाल्ने गरेका छन् ।