• मंसिर १७, सिन्धुली/बागमती प्रदेश सांसद छेत्र बहादुर बम्जनले सिन्धुलीमा अपाङ्गहरुको लागि ह्वील चियर बास्केटबल मैदान बनाइदिने घोषणा गर्नुभएको छ ।

    आज ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाङ्ग महिला संघ सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको कार्यक्रममा बाेल्दै प्रदेश सांसद बम्जनले अपाङ्गहरुको लागि बास्केटबल मैदान बनाउन बजेट बिनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको हो । स्पाइनल कर्ड इन्जुरी संघले शारिरीक अपाङ्गता भएका मानिसहरुले पनि खेल खेल्न सक्छन् भन्ने सन्देश दिन ह्वील चियर बास्केटबल प्रदर्शन गरेका थिए । सोहि खेलको मुल्याङ्कन गर्दै प्रदेश सांसद बम्जनले अपाङ्गता भएका व्यक्तिहरुलाई मध्यनजर नगरिएको महशुस भएको बताउनु भयो ।

    खेल खेल्ने मैदान, सार्बजनिक शाैचालय, सडक, सरकारी तथा गैरसरकारी कार्यालय तथा विद्यालमा समेत अपाङ्गता भएका व्यक्तिहरुलाई मध्यनजर नगरी संरचना निर्माण गर्दा निकै समस्या भोग्नुपरेको महशुस भएको बताउँदै सांसद बम्जनले अब निर्माण हुने संरचनाहरु अपाङ्गमैत्री निर्माण गर्न संघ, प्रदेश र स्थानीयतहबाटै आदेश हुनुपर्ने धारणाा राख्नुभयाे ।

    नेपालले संघियताको अभ्यास गर्दैगर्दा अपाङ्गता सम्बन्धी विभिन्न ऐन, कानून निर्माण गरेपनि हालसम्म ऐन, कानून अपेक्षा अनुसार कार्यान्वयन हुन नसकेकाे अपाङ्गता भएका व्यक्तिहरुले गुनासो गरेका छन् । कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुले समाजबाट भोग्नुपरेको अपहेलना तथा सार्बजनिक संरचना अपाङ्गमैत्री नहुँदा झेल्नुपरेको समस्याको चित्रण गरिएको जनचेतनामुलक नाटक प्रदर्शन गरिएको थियो ।

    राष्ट्रिय कलाघर सिन्धुलीका अध्यक्ष सुमन मगरको निर्देशनमा प्रदर्शन गरिएको नाटकमा समाज विकशित भएपनि विद्यालय, घर, समाज तथा अन्य ठाउँमा अझैपनि उस्तै व्यवहार सहनुपरेकाे यथार्थ प्रस्तुत गरिएकाे थियाे। ‘दिगो विकासकाे लक्ष्य प्राप्तिको प्रतिबद्धता, अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यवद्धता’ भन्ने नारा सहित आज अन्तर्राष्ट्रिय अपाङ्ता दिवस मनाइएको छ ।

    अपाङ्ग महिला संघ सिन्धुलीका अध्यक्ष दिपा देबकोटाको अध्यक्षता तथा बागमती प्रदेशका सांसद छेत्र बहादुर बम्जनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीकी उपप्रमुख शान्त कार्की, कमलामाई नगरपालिकाका उपप्रमुख मन्जु देबकोटा, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल लगायतको उपस्थिती रहेको थियो ।

    ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा बिहान प्रभातफेरी गरिएको थियो । त्यस्तै नवज्योति बहिरा मावि जसेदमारमा अध्ययनरत विद्यार्थीहरुले उत्पादन गरेका हस्तकला सामाग्री प्रदर्शन गरिएको थियो । पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत बहिरा विद्यार्थीहरुले हस्तकला सामाग्री निर्माण गरिरहेका छन्।