• मंसिर १६, सिन्धुली/बागमती प्रदेश सभा सदस्य शुष्पा भुजेलले प्रदेशसभामा आफूले गरेका एक बर्षको गतिबिधिको समिक्षा गर्नुभएको छ । भुजेलले आज सिन्धुलीमाढीमा प्रेस सेन्टर नेपाल सिन्धुलीको समन्वयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रदेशसभामा आफू निर्वाचित भए पश्चात एक बर्षमा गरेका गतिविधिको समिक्षा गर्नुभएको हो ।

    माओवादी केन्द्रको समानुपातिक तर्फकी सांसद भुजेललाई पार्टीले सिन्धुलीको निर्वाचन क्षेत्र नम्बर १ प्रदेश (१) को जिम्मा दिएको छ । चालु आर्थिक बर्षमा सांसद भुजेलको पहलमा गोलन्जोर गाउँपालिकामा २ वटा बहुवर्षीय योजना र विभिन्न मन्त्रालयद्धारा १ सय भन्दा बढी साना योजनाहरु परेको जानकारी पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

    गोलन्जोर गाउँपालिकाको छविसे, ५ नम्बर वडा कार्यालय, नयाँखर्क मावि, नाकाजोली, हैवार हुँदै कालढुङ्गा वडा नम्बर ६ देउरालीटार र कुँडुलेदेखि धन्सारसम्मको सडक खण्ड बहुवर्षीय योजना मार्फत स्तरउन्नती गरिने उहाँले बताउनुभयो । त्यस्तै भौतिक तथा पूर्वाधार मन्त्रालयद्धारा विभन्न शीर्षकमा २५ देखि ३० वटा योजना, सामाजिक विकास मन्त्रालयबाट १२ वटा, खानेपानी उर्जा तथा सिंचाई मन्त्रालयबाट २५ देखि ३० वटा, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयबाट ५ देखि ७ वटा र वन तथा वातावरण मन्त्रालयबाट १२ वटा योजना परेको सांसद भुजेलले सार्बजनिक गर्नुभयो ।

    सांसद भुजेलले लोकतान्त्रिक गणतन्त्र प्राप्तिका खातिर आन्दोलनको विभिन्न कालखण्डमा घाइते तथा अपाङ्गता भएका योद्धाहरुको निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने, बोनम्यारो ट्रान्सप्लान्ट र कलेजोको बिरामीलाई ५० प्रतिशत छुट सहितको उपचारको व्यवस्थापन गर्नुपर्ने लगायतका महत्वपूर्ण बिषयहरु प्रदेश सभामा आफूले उठान गरेको समेत बताउनुभयो । जनताको अपेक्षा र जिल्लाको विकास निर्माण आफ्नो पहिलो प्राथमिकता भएको भन्दै सांसद भुजेलले मतदाताहरुको अपेक्षा पूरा गर्न आफू सँधै अग्रभागमा रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।