• मंशिर ३,सिन्धुली /आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी सिन्धुलीमा पनि हर्षोउल्लासका साथ मनाइँदैछ । पूजाको लागि सिन्धुलीमाढीको ग्वाङखोलाका ठाउँठाउँका स्थानहरु झकिझकाउँ गरि छठ घाटका रुपमा सिङ्गारिएका छन् ।


    आज छठ पर्वको मुख्य दिन अस्ताउँदो सुर्यलाई अर्घ दिन ग्वाङखोलामा बनाइएका छठ घाटमा भक्तजनहरु साँझपख पूजा सामाग्री लिएर पुग्नेछन् । छठ घाटहरु सफासुघ्घर गरी विशेषरूपमा झिलिमिली,केराको बोट तथा फुलहरुले सजाइएको छ ।

    सिन्धुलीमा पछिल्लो समय मधेसी समुदाय मात्रै नभई पहाडि समुदायहरुले पनि छठ पर्व मनाउने गरेका छन् । पहिले केहि घरहरुले मात्रै मिलेर मनाउँदै आएको छठ पर्व पछिल्लो केहि बर्षबाट सामुहिक रुपमा मनाउने गरिएको ३० बर्ष देखि सिन्धुलीमा छठ पर्व मनाउँदै आउनु भएको बब्लु चौधरीले बताउनु भयो ।


    उहाँले भन्नुभयो “ ३० बर्षदेखि सिन्धुलीमा छठ पर्व मनाउँदै आएका छौँ । पहिले केहि घर मिलेर खोलाको छेउमा पाल टाँगेर मनाउने गरेका थियौँ । अहिले जनसंख्या बढि भएकोले एउटै छठ घाटमा ५२ घर मनाउँने तयारीमा छौँ ।
    केहिले छठ पूजा समितिनै बनाएर छठ संयुक्त रुपमा मनाउने गरेका छन् भने केहिले छुट्टै पाएक पर्ने स्थानमा छठ घाट निर्माण गरेर मनाउने छन् ।


    श्रद्धापूर्वक मनाइने छठ पर्वका लागि ढाकी, नाङ्लो, कोनियाँ, डगरी, उखु, केरा, हल्दी, अदुवा, निम्बु, मूला, नरिवल, पान, सुपारीसहितका फलफूल तथा माटोका हाथी, ढकनी, घैला र नयाँ व्रतालुका लागि नयाँ कपडा, घाट सजाउनमा प्रयोग हुने लगायतका सामग्रीको प्रयोग गरिने छठ पूजा सेवा समिति सिन्धुलीका अध्यक्ष शिवलाल चौधरीले जानकारी दिनुभयो ।