चाडबाड भड्किलो रुपमा नमनाउन अध्यक्ष माेक्तानकाे आग्रह
असोज ३०, सिन्धुली/मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तान (प्रख्यात) ले नजिकिँदै गरेको हिन्दु नेपालीहरुको महान पर्व दशैँ, तिहार भड्किलो तरिकाले नमनाउन आग्रह गर्नुभएको छ । आज मरिण गाउँपालिकाले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष माेक्तानले विश्व आर्थिक रुपमा आक्रान्त भइरहेको समयमा चाडपर्व भड्किलो तरिकाले नमनाउन आग्रह गर्नुभएको हो ।
वडादशैँ तथा शुभ दिपावलीले मानिसमा जोस्, जाँगर, उमंग, सद्भाव, सहिष्णुता कामय रहोस् भन्ने शुभकामना व्यक्त गर्दै उहाँले चाडपर्वलाई मध्यनजर गरेर विभिन्न किसीमका निर्देशन सहित सूचना जारी गरिएको बताउनु भयो । विगतका दिनको दुर्घटनालाई सम्झँदै गाउँपालिकाले राती १० बजेबाट मरिणका बजारहरुमा होटल सन्चालनमा रोक लगाएको छ । चाडपर्वमा मदिरा सेवन गरेर होहल्ला गर्ने, झैझगडा हुन सक्ने भएकाले राति १० बजेबाट होटल सन्चालनमा रोक लगाइएको अध्यक्ष मोक्तानले बताउनु भयो ।
कुनै किसिमका घटना हुन नदिन गाउँपालिकाले मरिणको कपिलाकोटमा दशैं अघिनै हाइमास्ट बत्ति जडान गर्ने तयारी गरेकाे छ । चोकमा बैंक, सहकारी तथा सरकारी कार्यालयको सुरक्षाको लागि जडान गरिएको सिसिटिभीलाई सहायताको लागि बत्ति पनि जडान गर्न लागिएको अध्यक्ष मोक्तानले बताउनु भयो ।
त्यस्तै विभिन्न ठाउँबाट दशैं मनाउन मरिण गाउँपालिका प्रवेश गर्ने सवारी साधनमा भाडा बढि असुल्ने गरिएको छ भन्ने गुनासो आएकाले सवारी साधनमा छड्के जाँच सुरु गरिने पनि अध्यक्ष मोक्तानले बताउनुभयो । दशैँ मनाउन आउने मरिणबासीहरुलाई दोब्बर, तेब्बर भाडा लिने गरेको पाइएमा तुरुन्त फिर्ता गर्न लगाइने उहाँको भनाई छ । चाडपर्वको समयमा सामान खरिदमा कालोबजारी गर्ने व्यापारीहरुलाई छड्के जाँच गरेर जरिवाना तिराउन लगाइएको र बजार अनुमगन पनि जारी राखिने वहाँले बताउनुभयो ।