अर्थतन्त्रले धान्ने अनि संविधानले मान्ने काम मात्र गर्न सकिन्छ : सांसद दाहाल

असोज २३, सिन्धुली/प्रतिनिधि सभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य लेखनाथ दाहाल (राजन) ले अवसर र अधिकार खोज्नु भन्दा पहिले वस्तुगत सच्चाइलाई आत्मसात् गर्नै पर्ने र अर्थतन्त्रले धान्ने अनि संविधानले मान्ने काम मात्र गर्न सकिने बताउनु भयो ।
सांसद दाहालले आफ्नो सामाजिक सन्जाल फेसबुक मार्फत “अर्थतन्त्र आयातमा आधारित भन्सार अर्थतन्त्र, रेमिट्यान्स अर्थतन्त्र, वैदेशिक अनुदान, वैदेशिक ऋण र आन्तरिक ऋणमा आधारित अर्थतन्त्र हो । वजारमा वस्तुको माग कम भएपछि आयात कम हुने नै भयो। आयात कम भएपछि राजश्व पनि कम उठ्ने नै भयो, समवन्धित देश नै आर्थिक सङ्कटबाट गुज्रेपछि वैदेशिक अनुदान घट्ने नै भयो” भन्नुभयाे ।
उहाँले सामाजिक सञ्जाल मार्फत के. पि. ओली प्रधानमन्त्री हुँदा अनुत्पादक क्षेत्र र फजुल खर्चको लागि लिएको वैदेशिक ऋणको व्याज तिर्न ऋण लिनु पर्ने अवस्थामा थप ऋणको भारि थप्नु पर्ने र ऋण लिनु पूर्व लगानीमैत्री वातावरण, उद्योगमैत्री कानून, सहयोगी सरकारी संरचना, उत्पादन, रोजगार र पूँजी निर्माणको सुनिश्चितता हुनु हुनुपर्ने बताउनु भयो ।
सांसद दाहालले “अर्वौ को भ्यूटावर वनाउने ओली प्रवृत्तिलाई निरूत्साहित गर्नै पर्छ । पूँजीगत खर्च हुनै नसक्नुका कारण पत्ता लगाइ सकरात्मक परिणाममुखी र उपयोगी पूँजीगत खर्च प्रणालीमा बदल्नै पर्छ । घर जग्गा कारोवार र आयातमा आधारित व्यपारले मात्र पूँजी निर्माण गर्न सकिन्न । निर्यातमा आधारित उत्पादनलाई जोड दिनु पर्छ” भन्नुभयाे ।
सांसद दाहालले “स्वदेशमै उत्पादन हुने वस्तु आयातमा रोक लगाउनै पर्छ । उत्पादित वस्तुको वजारिकरणको जिम्मा राज्यले लिनै पर्छ । राष्ट्रिय औद्योगिक पूँजीको विकासमा लगानी केन्द्रित गर्नु अनिवार्य छ । विगतको निरन्तरतामा होइन आत्मनिर्भर अर्थतन्त्र निर्माणको दिशामा अघि बढ्नु पर्छ । तसर्थ कमरेड प्रचण्ड नेतृत्व सरकारले लिएको सुशासन, समृद्धि र समाजिक न्यायको केन्द्रिय कार्यभार पूरा गर्ने अभियानलाई साथ दिनु नै हरेक नागरिकको कर्तव्य हुन गएको छ” भन्नुभयाे ।