• असोज १७, सिन्धुली/सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा आज नेकपा एमाले र नेपाली काङ्ग्रेस दुवै पार्टी भित्रको घर भत्किएको छ । बर्षोँ देखि राजनिति गरिहेका नेकपा एमाले र नेपाली काङ्ग्रेसको घर भत्काएर सक्रिय नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् ।

    हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ७ का नेपाली काङ्ग्रेसद्धारा निर्वाचित पुर्व वडा अध्यक्ष सहित २ सय ४० जना नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

    पुर्व वडा अध्यक्ष बालकृष्ण नेपालको नेतृत्वमा हरिहरपुरगढी गाउँपालिका वडा नम्बर २, ३, ४, ५, ६, ७ र ८ का नेकपा एमाले र नेपाली काङ्ग्रेसका सक्रिय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि सयौँको संख्यामा माओवादीमा प्रवेश गरेका हुन् ।

    नव प्रवेशीहरुलाई नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा, माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन), केन्द्रिय सदस्य महेश्वर दाहाल लगायतले अबिर, टिका लगाएर बाजागाजा सहित पार्टी प्रवेश गराएका हुन् । माओवादी केन्द्र हरिहरपुरगढी गाउँ कमिटीको आयोजनामा आमसभाको कार्यक्रममा नप्रवेशीहरुलाई स्वागत गरिएको थियो ।

    पुर्व वडा अध्यक्ष (नवप्रवेशी) बालकृष्ण नेपालले ३० बर्षदेखि माओवादीले पटक पटक विभिन्न आन्दोलन मार्फत आफ्ना एजेण्डाका साथ अघि बढेपछि बल्ल व्यवस्था बदलेको बताउनु भयो ।

    उहाँले भन्नुभयो “मलाई बर्षो देखि नेपाली काङ्ग्रेसमा सक्रिय भएर राजनिति गरेर अहिले माओवादीमा प्रवेश गरेको भनेर धेरै प्रश्न आइरहेको छ । मेरो एउटै जवाफ छ, व्यवस्था त माओवादीले बल्ल बदलेको छ । अब अवस्था बदल्न हामी सबै एकजुट हुनुपर्छ । अबस्था पनि माओवादीले मात्रै बदल्न सक्छ ।”

    माओवादी सरकारमा छोटो समय मात्रै बसेपनि असल कार्य मात्रै गरेको देखेकोले माओवादीमा प्रवेश गरेको नेपालको भनाई छ ।