• असोज १६,सिन्धुली/सिन्धुलीमा कार्तिक १३ गतेबाट हुने तेस्रो राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगितामा सिन्धुली सहित देशभरका २५ जिल्लाले सहभागिता जनाउने भएका छन् । नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिति सिन्धुलीको आयोजनामा मरिण गाउँपालिकामा हुने तेस्रो राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगिता २५ जिल्लाका माझी समुदायका युवा खेलाडिले सहभागिता जनाउने भएका हुन् ।
    माझी समुदायका युवा खेलाडीहरुको क्षमता विकासको लागि फुटबल प्रतियोगिताको आयोजना गरिएको नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिति सिन्धुली अध्यक्ष बबिन्द्रलाल माझीले बताउनु भयो । फुटबल खेलले देशभर छरिएर रहेका माझी समुदायलाई एकआपसमा नजिक बनाउने र माझी समुदायका युवाहरूको खेल क्षमता पनि बढ्ने विश्वास लिएको अध्यक्ष माझीको भनाई छ ।
    प्रतियोगिताको विजेता समूहले २ लाख ६५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार सहित सिल्ड, मेडल र प्रमाण पत्र, उप विजेताले १ लाख ३२ हजार २ सय २२ रुपैयाँ नगद पुरस्कार सहित सिल्ड, मेडल र प्रमाण पत्र र तेस्रो हुने समूहलाई ६६ हजार ६ सय ६६ रुपयाँ नगद पुरस्कार सहित सिल्ड, मेडल र प्रमाण पत्र दिइने अध्यक्ष माझीले जानकारी दिनुभयो ।
    प्रतियोगितामा सहभागी हुन आगामी असोज २५ गते भित्र समूह दर्ता गरी सक्नुपर्ने जनाइएको छ । नेपाल माझी उत्थान संघको आयोजनामा पहिलो पटक मकवानपुर जिल्लामा दोस्रो पटक रामेछाप जिल्लामा राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगिता भइसकेका छन् ।