• असोज १४, सिन्धुली/नेपाली काङ्ग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगन थापाले प्रदेश देखि स्थानीय तह खर्चिलो भएकाले त्यसलाई काङ्ग्रेसले सुधार्न जरुरी रहेको बताउनु भएको छ ।

    नेपाली काङ्ग्रेस दुधौली नगर समिती सिन्धुलीको सम्मेलनलाई सम्बोधन गर्नुहुँदै थापाले केन्द्रिय बैठकमा नेपाली काङ्ग्रेसले जितेको संघ प्रदेश र स्थानीयतहका जनप्रतिनिधिलाई हामिले फजुल खर्च नगर्न भनिएको बताउनु भयो ।

    नेपाली काङ्ग्रेसले पनि अब कम्युनिष्ट जस्तै बिचार बोक्दै हिडेको भन्दै थापाले आक्रोस पोख्नुभयो । उहाँले भन्नुभयो “संघसंस्था, सिँचाई, रेडक्रस जेसुकैको निर्वाचन भएपनि कम्युनिष्टहरु त्यहाँ हाम्रो मान्छे हुनुपर्छ भन्ने धारणा बोक्छन् । उस्तै विचार बोेकेर नेपाली काङ्ग्रेसहरु पनि पदका लागि कुदीरहेको देख्छु ।”

    पदको लागि दौडिनु नेपाली काङ्ग्रेसको धर्म हैन भन्नुहुँदै थापाले आफ्नो धर्म भुल्नु नहुने बताउनु भयो । “जसरी आगोले आफ्नो धर्म छाड्दैन, जसरी पानीले आफनो धर्म छोड्दैन त्यसरीनै नेपाली काङ्ग्रेसको धर्म भनेको नेपाल र नेपाली जनताको हित गर्नु हो । त्यो कहिलै भुल्नु हुँदैन” उहाँले थप्नुभयो ।

    दुधौलीमा सर्पदंश उपचार केन्द्र निर्माणमा शत प्रतिशत साथ दिने थापाले बताउनु भयो । “जसका लागि नेपाली काङ्ग्रेसका कार्यकर्तालाई चाहे त्यो प्रदेशको स्वास्थ्य मन्त्रालय अगाडि होस् चाहे त्यो संघिय स्वास्थ्य मन्त्रालयको अगाडि होस् धर्ना बस्नुपरे पनि दुधौलीमा सर्पदंश उपचार केन्द्र स्थापना गर्नुपर्छ भन्ने हिम्मत जुट्नुपर्छ । तव मात्रै नेपाल सरकारको कानमा पुग्छ । म त्यसका लागि पुर्ण समर्थन गर्दछु” थापाले दावी गर्नुभयो ।

    प्रत्येक बर्ष दर्जनौ मानिस सर्पले डस्दा उपचार नपाएर मृत्यु हुँदा समेत यहाँका नेपाली काङ्ग्रेका नेता तथा कार्यकर्तालाई कानमा तेल हालेर बस्ने छुट नभएको भन्दै थापाले स्वास्थ्य मन्त्रालय घेराउ गर्न आग्रह गर्नुभयो । शनिबारनै नेपाली काङ्ग्रेस दुधौली नगर समितिको वडा नम्बर १० मा निर्माण सम्पन्न भवनको उद्घाटन गरिएको छ । महामन्त्री थापाले भवनको उद्घाटन गर्नुभएको हो । दुधौली नगरपालिकाको २१ लाख १५ हजार रुपैयाँमा भवन निर्माण गरिएको थियो ।