• भदौ ३०, सिन्धुली/राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिको लागि सिन्धुलीका ५ वटा पालिकालाई निवेदन दिन आग्रह गरेको छ । सिन्धुलीको नौ वटा पालिका मध्ये कमलामाई नगरपालिका, दुधौली नगरपालिका, मरिण गाउँपालिका, तीनपाटन गाउँपालिका र घ्याङलेख गाउँपालिकालाई आयोगले निवेदन दिन आग्रह गरेको हो ।

    सिन्धुलीका ४ वटा गाउँपालिका सुनकाशी, गोलन्जोर, फिक्कल र घ्याङलेखले हाल सम्म पनि दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिको लागि लगत संकलन नगरेको भूमि आयोग सिन्धुलीका सदस्य सचिव सरोज श्रेष्ठले जानकारी दिनुभयो । पटक पटक सुचना निकाल्दा समेत ४ वटा गाउँपालिकाले अटेर गरेको श्रेष्ठको भनाई छ ।

    गत वर्षका सूचनामा छुट भएकाहरुलाई दोस्रो पटकको लागि सूचना जारी भएकोले आफ्नो नाम रहे नरहेको यकिन गरि आयोगले तोकेको ढाँचाबमोजिम निवेदन फाराम ३५ दिनभित्र आवेदन पेश गर्नुपर्ने कमलामाई इकाई केन्द्रका प्रमुख मुकेश तामाङले जानकारी दिनुभयो । शुक्रवार एक सूचना जारी गर्दै ३५ दिन भित्र भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन आयोगले आग्रह गरेको छ ।

    सिन्धुलीको दुधौली नगरपालिकामा १ सय ६ जना र हरिहरपुरगढी गाउँपालिकामा १७ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा वितरण भइसकेको छ भने मरिण गाउँपालिका र कमलामाई नगरपालिकाका विभिन्न स्थानमा जग्गाधनी पूर्जा वितरणको लागि निस्सा वितरण भएको भूमि आयोग सिन्धुलीका सदस्य बृहत स्याङ्तानले बताउनु भयो । तिनपाटन गाउँपालिकाले लगत संकलन गरिरहेको छ ।