सहकारीहरुलाई जिवन्त र गतिशील नेतृत्वको आवश्यक छ : दाहाल
भदौ ९, सिन्धुली/सिन्धुली क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन)ले सहकारीहरुलाई जिवन्त र गतिशील नेतृत्वको आवश्यक रहेको बताउनु भएको छ ।
जिल्ला सहकारी संघ लि. सिन्धुलीको ३० औं बार्षिक साधारण सभा तथा स्थापना दिवसको अवसरमा सिन्धुलीमाढीमा आयोजित कार्यक्रममा दाहालले सहकारी भनेको सहकार्य, सहयोग र सेवा जोडिने भएकाले सहकार्यात्मक भावना स्थापित गर्न जरुरी रहेको बताउनुभएको हो ।
सहकारीको नियमन र अनुगमन प्रभावकारी रुपमा गर्न आवश्यक रहेको दाहालले तर्क व्यक्त गर्नुभयो । सहकारीको पुजि निर्माणमा समान सहभागिता भए जस्तै पुजि परिचालनमा समेत समान सहभागिता हुनुपर्ने र खबरदारी हुनुपर्ने उहाँले बताउनु भयो ।
औद्योगिक पूजिको बिकास गर्न, बृहत्तर रोजगारीको सिर्जना गर्न, आयात घटाउन, निर्यात बढाउन, राष्ट्रिय औद्योगिक पुजिको बिकास गर्न, आफ्नै अर्थतन्त्रको बिकास गर्न र जनतालाई उत्पादन र रोजगारसंग जोड्न सहकारी नै पहिलो पाइला भएको उहाँको भनाई छ ।
सहकारी मार्फत दक्ष जनशक्ति निर्माणको लागि बिभिन्न सिपमुलक तालिम हरु संचालन गर्न आवश्यक रहेकाले त्यसको लागि स्थानीय प्रदेश तथा संघिय सरकार मार्फत आवश्यक सहयोगका लागि समन्वयात्मक भूमिका निर्वाह गर्न आफु प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
जिल्ला सहकारी संघ लिमिटेड सिन्धुलीको ३० औं बार्षिक साधारण सभा तथा स्थापना दिवस सिन्धुलीमाढीमा मनाईएको छ । “गुणस्तरीयता विश्वसनीयता एवं संचालन प्रक्रियामा शुद्धता, नीति विधि र प्रविधियुक्त सहकारी बनाउने संघको प्रतिबद्धता” भन्ने नारा सहित जिल्ला सहकारी संघ सिन्धुलीका अध्यक्ष नवराज कोइरालाको अध्यक्षता तथा सिन्धुली क्षेत्र नं. २ का प्रतिनिधी सभा सदस्य लेखनाथ दाहाल राजनको प्रमुख आतिथ्यतामा संघको बार्षिक साधारण सभा तथा स्थापना दिवस मनाइएको हो ।
कार्यक्रमको अवसरमा संघको आर्थिक तथा बार्षिक प्रगती प्रतिवेदन, हाल कारोबारको अवस्था, संस्थागत कोषको अवस्था, संघको भावि कार्ययोजना लगायतको बिषयमा जिल्ला सहकारी संघका अध्यक्ष नवराज कोइरालाले जानकारी गराउनुभएको थियो । गत आर्थिक बर्षमा ८ वटा सहकारी खारेज गरिएको र २ वटा नयाँ सहकारी दर्ता भएकाले जिल्ला सहकारी संघमा अहिले २ सय ६० वटा सहकारी आवद्ध रहेको उहाँले बताउनुभयो ।
कार्यक्रमको अवसरमा सहकारीको क्षेत्रमा आवश्यक बजेट बिनियोजन गरे बापद मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका तिनपाटन गाउँपालिका र सरकारीको क्षेत्रमा बिभिन्न सहयोग पुर्याउने सहकारीहरुलाई समेत सम्मान गरिएको छ ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल, राष्ट्रिय सहकारी महासंघका संचालक एंव बाग्मती प्रदेश संयोजक डिबि बस्नेत, राष्ट्रिय सहकारी महासंघका लेखा सुपरिवेक्षण समितिका सदस्य बालकुमारी श्रेष्ठ, सुनकोसी गाउँपालिका अध्यक्ष दिपा बोहारा दाहाल, मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान लगायतको उपस्थिति रहेको थियो ।