कपिलाकोट माविको छात्र, छात्राको क्याप्टेन निर्वाचनबाट छनोट

भदौ ८, सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिका – ७ स्थित कपिलाकोट मावि छाप महेश्वतामा क्याप्टेन निर्वाचन सम्पन्न गरिएको छ । विद्यालयको छात्र र छात्राको क्याप्टेन तथा भाइस क्याप्टेन छनौटका लागि निर्वाचन प्रक्रियाबाट सम्पन्न गरिएको हो ।
विद्यालय प्रशासनले विद्यालय व्यवस्थापन समितीका अध्यक्ष राजकुमार श्रेष्ठको उपस्थितीमा निर्वाचन गराएको थियो । आज निर्वाचित क्याप्टेन तथा भाइस क्याप्टेन १ बर्षको लागि कायम रहने विद्यालयका प्रधानाध्यापक अमृत सिंह घिसिङले बताउनु भयो ।
कक्षा ९ बाट १२ सम्मको छात्र तर्फको क्याप्टेनमा कक्षा १२ का दिवाकर गदाइली विजयी हुनुभएको छ । गदाइलीले २ सय ६४ मत प्राप्त गर्नुभएको थियो । भाइस क्याप्टेनमा कक्षा १० का छेदिप गोले १ सय ८२ मत प्राप्त गरेर विजयी हुनुभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै कक्षा ९ बाट १२ सम्मको छात्रा तर्फको क्याप्टेनमा कक्षा १२ की निर्जला मोक्तान विजयी हुनुभएको छ । मोक्तान निर्विरोध निर्वाचित हुनुभएको हो । भाइस क्याप्टेनमा कक्षा १२ की अस्मिता बिक विजयी हुनुभएको छ । बिकले २ सय २९ मत प्राप्त गर्नुभएको थियो । जम्मा मतदाता संख्या ७ सय ३७ जना रहेको विद्यालयका प्रधानाध्यापक घिसिङले जानकारी दिनुभयो ।
आधारभूत तहको कक्षा ४ देखि ८ सम्मको छात्र तर्फको क्याप्टेनमा कक्षा ८ का दिबश रखाल मगर विजयी हुनभएको छ । मगरले ७१ मत प्राप्त गर्नुभएको थियो । भाइस क्याप्टेनमा कक्षा ६ का राजकुमार मुखियाले ६६ मत प्राप्त गरी विजयी हुनुभएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै आधारभूत तहको कक्षा ४ देखि ८ सम्मको छात्रा तर्फको निर्वाचनबाट क्याप्टेनमा कक्षा ८ की रुपा कुइँकेल निर्वाचित हुनुभएको छ । कुइँकेलले ८५ मत प्राप्त गर्नुभएको थियो । भाइस क्याप्टेनमा कक्षा ७ की लिला रिजाल ९८ मत सहित विजयी हुुनुभएको हो । जम्मा मतदाता संख्या २ सय ६७ जना रहेका थिए ।
क्याप्टेन तथा भाइस क्याप्टेनको लागि गरिएको निर्वाचमा विद्यार्थीहरु आफ्नै नामबाट चुनावमा उठेका थिए । विद्यार्थीहरूमा प्रजातान्त्रिक व्यवस्थाअनुसार आफूले चाहेको लिडर कसरी छान्ने भन्ने कुराको अभ्यासको लागि निर्वाचनको आयोजना गरिएको प्रधानाध्यपक घिसिङले बताउनु भयो ।
आज विजयी क्याप्टेन तथा भाइस क्याप्टेनले शैक्षिक क्रियाकलाप,अनुशासन तथा अतिरिक्त क्रियाकलापमा अग्रसर रहेर कार्य गर्ने गर्दछन् । कपिलाकोट माविमा १ कक्षा देखि १२ सम्म १ हजार २ सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।