ढुङ्ग्रेवास र धुरा जोड्ने निर्माणाधीन पक्कीपुल अलपत्र

भदौ ८, सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका ४ स्थित ढुङ्ग्रेवास र धुरा जाेड्ने निर्माणाधीन पक्कीपुल अलपत्र परेको छ । २०८० असारमा सम्पन्न हुनु पर्ने याेजना ठेकेदारले भुक्तानी नपाएपछि अलपत्र परेकाे हो ।

पक्कीपुल निर्माणको लागि नेपाल सरकारको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग अन्तर्गत भ्याट सहित ८ करोड ७६ लाख ६ सय रुपैयाँकाे लागतमा २०७७ साल भदाै १० गते ३ बर्षमा निर्माण सम्पन्न गर्नेगरी महादेव खिम्ती अन्जना सारस जेभीले ठेक्का सम्झौता गरेको थियो ।

सडक विभागले भुक्तानी नदिएपछि निर्माण कार्य रोकेको कन्स्ट्रक्सनका प्रतिनिधी रमेश कुमार कुँवरले जानकारी दिनुभयो । २०८० असारमा निर्माण सम्पन्न गर्नुपर्ने भएपनि पुलको डिजाइन पास हुन समय लागेकाले पुल निर्माणको कार्य १ बर्ष अघि मात्रै सुरु भएको थियो ।

२०८१ असारमा पुल निर्माण सम्पन्न हुने गरी १ बर्षको समय थप गरेपनि भुक्तानी नहुन्जेल निर्माण कार्य सुरु नहुने कुँवरले बताउनुभयो । हाल सम्म ५ करोड मात्रै भुक्तानी भएको उहाँले बताउनु भयो । यो बर्ष पनि सडक विभागले आवश्यक बजेट नछुट्याएको भन्दै १ बर्षमा पनि पुलको काम सम्पन्न हुने सम्भावना नरहेको कुँवरको भनाई छ ।

निर्माणाधीन पुलको निर्माण कार्य ठप्प भएपछि स्थानीय दुःखी भएका छन् । पुल बन्ने भएपछि आवातजावातका लागि सहज हुने भन्दै खुसी भएका स्थानीय अहिले चिन्तित भएका हुन् । ढुङ्ग्रेबास र धुरा जोड्ने पुल नहुँदा यात्रीहरुले सास्ती खेपिरहेका छन् ।

पाँच करोड रकम भुक्तानी भैसकेर काम आधाभन्दा बढि सकिएको देखिन्छ । तर बाँकी रकम नदिएसम्म काम नै सुरु गर्दिन भन्न ठेकेदारले नमिल्ने भन्दै एक स्थानीयले आक्रोस व्यक्त गर्नुभयो । साथै सम्बन्धित निकायले समयमै भुक्तानी दिएर पुल निर्माण कार्य समयमै सम्पन्न गर्न पहल गर्नुपर्ने वहाँको भनाई छ । विभिन्न बहानामा विकास र स्थानीयको अपेक्षासंग खेलवाड गर्न कसैलाई पनि अधिकार नभएको स्थानीयले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *