• भदौ २, सिन्धुली/नेकपा (माओवादी केन्द्र) का उप–महासचिव तथा बागमती प्रदेश इन्चार्ज जनार्दन शर्माले जनआन्दोलनका उपलव्धिहरुलाई जनतामाझ स्थापित गराउन ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’ सन्चालन गर्न लागेको बताउनुभएको छ ।

    नेपाल प्रेस सेन्टर जिल्ला समन्वय समिति सिन्धुलीले शनिबार सिन्धुलीमाडीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै वहाँले नेकपा माओवादी केन्द्रले सन्चालन गर्न लागेको विशेष रुपान्तरण अभियानले पार्टीलाई थप मजबुत बनाउँने, पार्टीले जनताका लागि गरेको योगदान र बलिदानको स्मरण गराउँने, जनताका समस्या पहिचान गर्दै सम्बोधन गर्न पहल गर्ने तथा सरकारले गरेका कामहरुको बारेमा जनतालाई जानकारी गराउन सहयोग गर्ने बताउनुभयो । नेकपा माओवादी केन्द्र पछिल्लो समयमा सहरमुखी हुँदैगएको भन्ने आरोपको नेता शर्माले खण्डन गर्नुभएको छ ।

    कैलाली घटनाका कारण जेल सजाय भोगिरहेका रेशम चौधरीलाई सरकारले आम माफी दिएको सन्दर्भमा वहाँले भन्नुभयो ‘सरकारले रेशम चौधरीको मुद्धा फिर्ता लिएको हो । यसमा जेल माफिको मात्र कुरा गरिएको हो, सबै कुरा फिर्ता लिएको भन्न नमिल्ला । तथापि चौधरीलाई फेरी जेल हाल्ने भन्ने विषय आउँदैन । तर कैलाली घटनाका पिडितहरुको आवाजलाई सरकारले उचित सम्बोधन भने गर्नैपर्छ ।’

    सुन काण्डबारे पत्रकारहरुले सोधेको जिज्ञासामा उपमहासचिव शर्माले देशलाई तस्करीको केन्द्र बनाउँन नहुने स्पष्ट पार्नुभएको छ । यसबारे छानबिनमा सरकार सक्रिय रुपमा लागिरहेकाले दोषि उम्किन नपाउँने बताउँदै वहाँले भन्नुभयो ‘महरा बाउ छोरा हुन् या अरु कोही हुन्, छानबिनले पुष्टि गरेको खण्डमा सबै कारबाहीको दायरामा आउनुपर्छ र आउँछन् पनि ।’

    प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई विभिन्न बहानामा संसद अवरोध नगर्न नेता शर्माले आग्रह समेत गर्नुभएको छ । वहाँले विपत्तिको समयमा संसद अवरोध गरेर भन्दानी सुचारु गरेर समस्याको समाधान खोज्न र जनतामा जान एमालेलाई सुझाव दिनुभएको छ । त्यस्तै डा.बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी र विप्लवले नेतृत्व गरेको पार्टीसंग पार्टी एकता गर्ने विषय दोश्रो चरणको छलफलमा पुगेको शर्माले जानकारी गराउनुभयो । पार्टी एकतामा कुनै समस्या नभएको भन्दै वहाँले पदिय जिम्मेवारीको विषय मात्र बाँकी रहेकाले यो छिटै टुंगोमा पुग्ने स्पष्ट पार्नुभयो ।

    प्रेस सेन्टर नेपाल जिल्ला समन्वय सिन्धुलीको आयोजनामा गरिएको पत्रकार भेटघाट कार्यक्रममा उप–महासचिव जनार्दन शर्मा, बागमती प्रदेश अध्यक्ष सरल सहयात्री, नेकपा माओवादी केन्द्र सिन्धुलीका इन्चार्ज एवं प्रतिनीधि सभा सदस्य लेखनाथ दाहाल (राजन), बागमती प्रदेश सांसद शुष्पा भुजेल लगायतको उपस्थिति रहेको थियो ।