सिन्धुलीमा सोमबारबाट व्यवसायिक प्याराग्लाडिङ सुरु हुने

साउन १९, सिन्धुली/सिन्धुलीमा साउन २२ गतेबाट पहिलो पटक व्यवसायिक प्याराग्लाडिङ सुरु गरिने भएको छ । गत वैशाख १२ गते पहिलो पटक सफल परीक्षण गरिएपछि यही साउन २२ गतेबाट व्यवसायिक प्याराग्लाडिङ सुरु गरिने भएको हो ।
प्रयास होटल प्रालि कमलामाई नगरपालिका ६ रातमाटाले सिन्धुलीमा पहिलो पटक प्याराग्लाईडिङ् ब्यवसाय सुरु गर्न लागेको छ । यात्रु सहितको परीक्षणमा उडान सफल भएकोले सिन्धुलीको आकाश प्याराग्लाईडिङको लागि सुरक्षित रहेको निर्देशक नेत्रजंग थापाले बताउनु भयो ।
सिन्धुली जिल्ला ३ वटा राजमार्गले छोएको जिल्ला हो । जसमा राजधानि काठमान्डौँ र भारतको ठुलो शहर पट्ना लगायत अन्य जिल्ला जानको लागि सहज भएकाले महिनामा लाखौँको संख्यामा पर्यटकहरु सिन्धुली जिल्ला भएर आवात जावत गर्ने गर्दछन् । सोहि पर्यटकलाई सिन्धुलीमा आकर्षित गराउनको लागि पाराग्लाईडिङ मुख्य व्यवसाय हुने निर्देशक थापाले आशा ब्यक्त गर्नुभएको छ ।
२ करोड लागतमा व्यवसाय सुरुवात गरिएको निर्देशक थापाले बताउनु भयो । २०८० जेठ १ गते बाट ब्यबसायिक रुपमा पाराग्लाईडिङ सुरु गरिने तयारी भएपनि विविध कारणका कारण साउन २२ गतेबाट सुरु गर्न लागिएको थापाको भनाई छ । ब्यबसायिक रुपमा बागमती प्रदेशमा नै पहिलो पटक पाराग्लाईडिङ् सन्चालन गरिने भएकाले मौसमको अनुकुलता अनुसार ५० वटा उडान गरिने लक्ष्य रहेको छ ।
२०८० वैशाख १२ गते यात्रु दिया थापा सहित पाइलट दिल कुमार सुनवारले ९ सय ७० मिटरको हाइटबाट १२ः३० बाट उडान सुरु गरिएकोमा १२ः४८ मा सफल अवतरण गरिएको थियो । सिन्धुलीमा पर्यटक भित्र्याउने मुख्य उदेश्य सहित कमलामाई नगरपालिकाको ४ नम्बर वडाको च्याउकोट डाँडा जहाँ सोहि ठाउँमा उत्पति भएको शिद्धबाबा मन्दिर साथै वडाले बागमती प्रदेश सरकारको सहयोगमा करौडौँ खर्चिएर निर्माण गरिएको भ्यु टाउर पनि छेउमै रहेकाले उक्त डाँडाबाट उडानको लागि उपयुक्त रहेको उहाँको भनाई छ ।
सिन्धुलीको भ्याली अवलोकनको दृष्टिकोणले उपयुक्त रहेकाले पर्यटकको मोह बढ्ने अपेक्षा सहित पाराग्लाईडिङ् सुरु गर्न लागिएको निर्देशक थापाले बताउनुभयाे ।