सिन्धुलीमा बालिका आमा बन्ने क्रम रोकिएन
साउन १४, सिन्धुली/सिन्धुलीमा २० बर्ष भन्दा कम उमेरका बालिका आमा बन्ने क्रम रोकिएको छैन । सिन्धुली अस्पताल सिन्धुलीको आर्थिक बर्ष ०७९/०८० को तथ्याङ्क अनुसार २० बर्ष उमेर भन्दा कम उमेरका ८६ जना बालिका आमा बनेका छन् ।
नेपाल सरकारको कानुन अनुसार २० बर्ष उमेर नपुगी युवा, युवतीले विवाह गर्न पाइदैन । तर सिन्धुलीमा भने बालिकामै आमा बन्ने क्रम रोकिएको छैन । १४ वर्ष देखि नै आमा बनेको पाईएको छ ।
सिन्धुली अस्पताल सिन्धुलीको आर्थिक बर्ष ०७९/०८० तथ्याङ्क अनुसार ८६ जना २० बर्ष उमेर नपुगेका बालिका आमा बनेका मध्ये कमलामाई नगरपालिकाबाट ३८ जना रहेका छन् । कमलामाई नगरपालिकामा बालिकामै आमा बन्नेको संख्या अन्य पालिका भन्दा तेब्बर छ ।
त्यस्तै दुधौली नगरपालिकाबाट ११ जना, मरिण गाउँपालिकाबाट १४ जना, तिनपाटन गाउँपालिकाबाट ८ जना, गोलन्जोर गाउँपालिकाबाट ६ जना, हरिहरपुरगढी गाउँपालिकाबाट ४ जना, घ्याङलेख गाउँपालिकाबाट १ जना रहेको छ । अन्य जिल्लाका ४ जना रहेका छन् । सिन्धुली अस्पतला लामो दुरी पर्ने भएकोले सुनकोशी र फिक्कल गाउँपालिकाबाट सुत्केरीका लागि प्रायजसो नआउने गरेको सुचना अधिकृत राजकुमार गोलले जानकारी दिनुभयो ।
सिन्धुली अस्पतालको तथ्याङक अनुसार १४ र १५ वर्षकी एक/एक जना, १६ वर्षकी ३ जना, १७ वर्षकी ९ जना, १८ वर्षकी २६ जना र १९ वर्षकी ४६ जना बालिका आमा बनेकी छन् । जिल्लाको ९ वटै पालिकामा स्वास्थ्य चौकी र स्वास्थ्य सँस्थाहरु भएकाले नर्मल डेलिभरी पालिकामै हुने गर्दछन् । कतिपए अस्पतालनै नजाने भएकाले २० बर्ष भन्दा कम उमेरका बालिका आमा बन्नेको संख्या अझै बढी रहेको अनुमान गर्न सकिन्छ ।
बालविवाह अन्त्यको लागि पालिकाले प्रत्यक बर्ष लाखौँ बजेट बिनियोजन गरेर विभिन्न योजना निर्माण गरेर काम गरेपनि सानै उमेरमा बिवाह गर्ने र आमा बन्ने क्रम रोकिएको छैन । यसैबिच जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा भने गत आर्थिक बर्ष २०७९/८० मा बालविवाहको एउटा मात्रै मुद्धा दर्ता भएको छ ।