सिन्धुलीमा आर्थिक बर्ष २०७९/८० मा ९१ वटा घरेलु हिंसाका घटना दर्ता,६४ वटा मिलापत्र

साउन १ सिन्धुली/सिन्धुलीमा आर्थिक बर्ष २०७९/८० मा ९१ वटा घरेलु हिंसाका घटना दर्ता भएका छन् । घरेलु हिंसाका आर्थिक बर्ष २०७८/७९ मा १ सय ३ वटा घटना दर्ता भएकोमा यो बर्ष कम दर्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीको महिला, बालकालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका अनुसार आर्थिक बर्ष २०७५/७६ मा ४१ वटा, २०७६/७७ मा ६८ वटा,२०७७/७८ मा ६४ वटा घटना दर्ता भएका थिए ।
घटनाहरुको धेरै मिलापत्र हुने, थोरै मात्रै अदालतमा जाने, केहि सम्पर्कमा नआउने र केहीको आवश्यक कारवाहि भइरहेको महिला,बालकालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रकी उमा लामाले जानकारी दिनु भयो ।
आर्थिक बर्ष २०७८/७९ मा १ सय ३ वटा घटना दर्ता भएकोमा ८६ वटा मिलापत्र, १२ वटा अदालतमा गएको, २ वटा सम्पर्कमा नआएको र ३ वटाको आवश्यक कारवाही भइरहेको छ भने आर्थिक बर्ष २०७९/८० मा ९१ वटा मुद्धा दर्ता भएकोमा ६४ वटाको मिलापत्र, २५ वटा अदालत गएको १ वटा मुद्दामा परिवर्तन भएको र १ वटाको आवश्यक कारबाही भइरहेको प्रहरीले जनाएको छ ।
महिला हिंसाका घटनाहरु सुरुमै पिडकलाई बोलाएर मिलापत्र तर्फ लगिने लामाले बताउनु भयो । मिलापत्रको लागि असहमति भएमा मात्रै अदालततर्फ पठाइने उहाँले बताउनु भयो ।
अधिकांस घटनाहरु सम्बन्ध बिच्छेद, नागरिकता नपाएको, जन्मदर्ता नदिएको, कुटपिट, शारिरीक तथा मानसिक यातना, गालीगलौज, शंका, खानबस्न नदिएको भनेर उजुरी आउने गरेको प्रहरी कार्यालयको महिला तथा बालबालिका सेलको तथ्यांकमा उल्लेख छ ।
पछिल्ला दिनहरुमा घरेलु हिंसाका घटनामा बृद्धि हुन थालेपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीले विद्यालय, क्याम्पस, विभिन्न टोलमा जनचेतनामुलक कार्यक्रम गरी घरेलु हिंसाका घटना न्यूनिकरण गर्न पहल गरिरहेको छ ।