बागमती प्रदेशमा नै पहिलो पटक घ्याङलेखले सरकारी काममा तामाङ भाषा प्रयोग गर्ने

असार २८, सिन्धुली/सिन्धुलीको घ्याङलेख गाउँपालिकाले नयाँ आर्थिक बर्ष(साउन) १ गतेबाट गाउँपालिकाको सरकारी कामकाजमा तामाङ भाषा पनि प्रयोग गरिने भएको छ । घ्याङलेख गाउँपालिकाले बागमती प्रदेशमा नै पहिलो पटक तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने नीति निर्माण गरेको हो ।
बागमती प्रदेशले तामाङ भाषालाई प्राथमिकतामा राखिने भनेता पनि हाल सम्म कुनै पालिकाले पनि सरकारी कामकाजमा तामाङ भाषा प्रयोग गरिएको पाइदैन ।
तामाङ समुदायहरुले प्रयोग गर्दै आएको साम्भोटा लिपिलाई गाउँपालिका अन्तर्गतका सबै कार्यालयहरुमा कामकाजको रुपमा प्रयोग गर्न सुरुवात गर्ने निर्णय भएको घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलानले बताउनु भयो ।
घ्याङलेख गाउँपालिकाको कुल जनसंख्या मध्ये ७५ प्रतिशत जनसंख्या तामाङ जातीहरु रहेकाले सरकारी कामकाजलाई सहजता वनाउने उद्देश्यले असार १० गते गाउँपालिकाको १३ औं अधिवेशनको बैठकले घ्याङलेख गाउँपालिका मातहतका सबै कार्यालयहरुमा तामाङ भाषालाई कामकाजको भाषा बनाउने निर्णय गरेको उपाध्यक्ष घलानले जानकारी दिनुभयो ।
साउन १ गते बाट लेडर प्याडमा गाउँपालिकाको नाम नेपाली र तामाङ दुवै भाषामा लेखिएको प्रयोग हुन्छ । त्यस बाहेक अन्य कामकाज आवश्यकता अनुसार तामाङ भाषामा हुने गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत रामकुमार कार्कीले बताउनु भयो ।
साथै घ्याङलेख गाउँपालिकाले सामुदायिक विद्यालयहरुमा कक्षा ५ सम्म तामाङ भाषामा पढाउने तयारी गरिरहेको गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलानले जानकारी दिनुभयो । पछिल्ला पुस्ताले तामाङ समुदायको भाषा,संस्कृतीको बिषयमा ध्यान नपु¥यााएकाले गाउँपालिकाले नै पहल सुरु गरिएको उहाँले बताउनु भयो ।