मुल्कोट क्षेत्र पर्यटकीय हवको रुपमा स्थापित हुँदै
असार २६, सिन्धुली/सिन्धुलीको सुनकोशी गाउँपालिका – ५ मुल्कोट क्षेत्र पर्यटकीय हवको रुपमा स्थापित भइरहेको छ । पछिल्लो समय रिसोर्ट, रेष्टुरेण्ट, होटल, सुनकोशीमा र्याफ्टीङ सुविधा लगायतका सुविधाले मुल्कोट पर्यटकहरुको रोजाईको क्षेत्रमा स्थापित भएको छ ।
सुनकोशी गाउँपालिकामा पर्यटक भित्र्याउने उद्देश्य र सहिदहरुको सम्झनामा वडा नम्बर ५ मुल्कोट नजिकै रमिते डाँडाँको सार्बजनिक ७० रोपनी जमिनमा सहिद पार्कको रुपमा पर्यटकीय क्षेत्र निर्माण कार्य भइरहेको छ ।
सिन्धुलीका प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन)ले असारमा बजेट रकमान्तर गरी सहिद पार्क निर्माणको लागि २० लाख बजेट विनियोजन गरिदिनुभएको थियो ।
सुनकोशीमा जनयुद्धको क्रममा एउटी आमाले आफ्ना ३ भाई सन्तान गुमाउन पुगीन्, अन्य धेरै आमाको काख रित्तिएका छन् भने कति अपाङ्ग भएका छन्, सोहि इतिहासको सम्झनामा साथै पर्यटक भित्र्याउने उद्देश्यले पार्क निर्माणको काम सुरु गरिएको सांसद दाहालको भनाई छ ।
उहाँले भन्नुभयो “संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको निम्ती जनताको अधिकार प्राप्तिको संघर्षमा सुनकोशी गाउँपालिकाको वडा नम्बर ५ बाट सबैभन्दा धेरैले ज्यान गुमाएका थिए । जनताको अपेक्षा अनुरुप सहिद पार्कमा आस्था अनुसारका मुर्ति लगायका नयाँ स्वरुप निर्माण भइरहेको छ । जसले पर्यटक भित्रने आसा छ ।”
पार्कलाई सौन्दर्यकरण गर्ने, बिरासतलाई पनि बचाउने उद्देश्य रहेको दाहालले बताउनुभयाे । जसअनुसार सहिद पार्कमा जनमुक्ति सेनाको सालिक, बुद्धको मूर्ती, शिवको मूर्ती, देबीको मूर्ती लगायत नयाँ बस्तुको स्वरुप निर्माण गरी आकर्षक बनाइएको छ ।
पार्कको वरिपरि बिभिन्न बोटविरुवाको बृक्षारोपण गरिएको ताज रिभरसाइड रिसोर्ट तथा यूनिक रिसोर्टका सन्चालक मनोज श्रेष्ठले बताउनु भयो । पार्कको सौन्दर्यकरणको लागि स्थानीय तथा ब्यवसायीहरुले बृक्षारोपण गरिरहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै पार्कको डिजाइन र ब्यवस्थापन समाजसेवी बिनोद कुमार श्रेष्ठले गरिरहनु भएको छ ।
निर्माणाधीन सहिद पार्कमा हाल दैनिक ५० जना र शनिबार १ सय भन्दा बढी पर्यटक आउन थालेको होटल सन्चालक श्रेष्ठको भनाई छ । बिपि राजमार्गको छेउमै रहेकाले पनि पर्यटकहरु आउन थालेका हुन् । पार्कमा दैनिक स्थानीय बासिन्दा तथा ब्यवसायीहरु श्रमदानमा जुटेका छन् ।