मरिणका कृषकहरुलाई निःशुल्क उन्नत जातको पाडी वितरण

असार २५, सिन्धुली/मरिण गाउँपालिकाद्वारा कृषकहरुलाई निःशुल्क उन्नत जातको पाडी वितरण गरिएको छ । वडा नम्बर ६ र ७ का कृषकहरुलाई १ सय ७४ ओटा मुर्रा प्रजातिको पाडी निःशुल्क वितरण गरिएको हो ।
मरिण गाउँपालिकाको चालु आर्थिक बर्ष ७९/८० को नवप्रवर्धन कार्यक्रम साझेदारी कोष अन्तर्गत मरिण गाउँपालिकालाई दुग्ध क्षेत्रमा आत्मनिर्भर बनाउने उद्देश्य सहित कृषकहरुलाई पाडी वितरण गरिएको मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तानले बताउनु भयो ।
वडा नम्बर ६ र ७ का १ सय ७४ जना कृषकहरुलाई उन्नत जातको पाडी पाल्नको लागि गाउँपालिकाले आधारभुत तालिम प्रदान गरेपछि पाडी वितरण गरिएको हो ।
पाडिलाई खानपानमा विशेष ध्यान दिनुपर्दछ । प्रोटिन, क्याल्सियम, फोसफरस, भिटामिन ‘ए’ प्रशस्त पाइने खानेकुरा खुवाउनुपर्छ। घाँस, भुसा, दाना, मकै, गहुँ, गहुँको चोकर, ढुटो, जौ, बदाम, तिल, सोयाबिन, आलस, तोरी, सूर्यमुखी, बिग्रेको आलु खुवाएर पालिने भएकाले कृषकहरुलाई वितरण अघिनै तालिम दिइएको पालिका अध्यक्ष मोक्तानको भनाई छ ।
उन्नत जातको भैँसीले सरदर दूध उत्पादन प्रतिबेत एक हजार ५०० लिटर अथवा अन्य सामान्य भैँसी भन्दा धेरै दुध दिने भएकाले उन्नत जातकाे राँगाको प्राकृतिक गर्भाधान बाट प्रजनन भएको पाडी वितरण गरिएको मोक्तानको भनाई छ । गोठ सुधारको लागि पालिकाले अनुदान उपलब्ध गराएको छ भने पाडीको उपचारको लागि गाउँपालिकाले नै पशु प्राबिधिकको व्यवस्था गरेको छ । नबप्रवर्ध्दन कार्यक्रम २ करोड २० लाखको लागतमा खोर, गोठ सुधार गरि उन्नत जातको पाडी र ९ सय ओटा उन्नत जातको बङ्गुर वितरण गरिएको छ, साथै नि:शुल्क पशु औषधीको समेत व्यवस्था गरिएको छ ।