देशमा विकास, समृद्धि र सुशासन स्थापनाका लागि मोर्चा आवश्यक छ :दाहाल
असार ४,सिन्धुली/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज लेखनाथ दाहालले देशमा विकास, समृद्धि र सुशासन स्थापनाका लागि मोर्चा आवश्यक रहेको बताउनु भएको छ ।दाहालले प्राप्त राजनीतिक परिवर्तनलाई स्वीकार गर्दै संविधानको रक्षा र सफल कार्यान्वयन गर्ने सामुहिक प्रतिवद्धता भएका राजनीतिक दलहरुका बीचमा मोर्चा बन्न लागेको बताउनु भएको हो ।
सत्ता साझेदार दलहरुका बीचमा कुनै खट्पट भएर मोर्चा बनाउन नलागेको दाहालले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो – ‘क्रान्ति, परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार्ने र संविधानको रक्षा गर्ने, संविधानको सफल कार्यान्वयन गर्ने सामुहिक प्रतिवद्धता भएका राजनीतिक दल, विभिन्न पात्र र प्रवृत्तिहरुको बिचमा हामीले समाजवादी मोर्चा बनाउन लागेका छौँ । यो समाजवादी मोर्चा बनाउने प्रश्न राजनीतिक प्रश्न हो । यसको सरकार सञ्चालनसँग, सरकारलाई सहयोग गर्नका लागि एउटा वातावरण त बन्छ ।”
प्रतिनिधिसभा सदस्य समेत रहनुभएका दाहालले तत्काल सत्ता साझेदार दलका बीचमा कुनै समस्या पैदा भएर समाजवादी मोर्चा बनाउन खोजिएको होइन भन्नुभएको छ । विचारधारात्मक हिसावले, राजनीतिक, कार्यनीतिक हिसावले एक ठाउँमा उभिन सकिएको बताउनुहुदै उहाँले मुलुकको विकास, समृद्धिको नेतृत्व गर्ने, सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर, जनताको इच्छा, आंकाक्षा, राष्ट्रिय आकांक्षा प्राप्त गर्न सक्ने राजनीतिक दल, पात्र र प्रवृत्तिहरुको केन्द्रीकरणको उद्देश्यले समाजवादी मोर्चा निर्माण गर्न लागिएको भनाई छ ।