• फागुन १६, मकवानपुर/बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले १००१ कैदी, बन्दी रहेको मकवानपुर जिल्लाको भिमफेदी कारागार निरीक्षण गर्नुभयो ।
    अनुगमन गर्दै मन्त्री श्रेष्ठले खुल्ला जेलको अवधारणामा राज्य नगएसम्म राज्यले हजारौंँ कैदी, बन्दीहरुको व्यवस्थापनमा दैनिक लाखौंँ खर्च गरिरहनुपर्ने अवस्थाको अन्त्य नहुने कुरा बताउनुभयो । उहाँले नेपालमा हाल झन्डै २८ हजार कैदी, बन्दीहरु रहेको र उनीहरुको भरण पोषणका लागि दैनिक ३० लाख रुपैयाँभन्दा बढी राज्यले खर्च गरिरहेको कुरा पनि बताउनुभयो । खुल्ला जेलको अवधारणा लागू गरेपछि वार्षिक अरबौं रुपैयाँ राज्यको बचत हुने र त्यसले कैदी, बन्दीहरूलाई समेत राम्रो हुने कुरा बताउनुभयो ।
    जेलमा रहेका कैदी, बन्दीहरूको मलमुत्रलाई वैकल्पिक ऊर्जा (बायो ग्याँस) को रुपमा प्रयोग गर्न मन्त्रालयले सहयोग गर्ने मन्त्री श्रेष्ठले बताउनु भएको छ । मलमूत्रबाट उत्पादन हुने ग्याँसलाई खाना बनाउन प्रयोग गर्दा हाल विधुतीय चुलोमा खर्च भैरहेको मासिक ५ लाख रुपैयाँ वचत हुने देखिन्छ ।
    मन्त्री श्रेष्ठले कारागारमा सवारी साधन, त्यसको इन्धन र मर्मत खर्चको व्यवस्थापन गर्न सहयोग गर्ने, कैदी, बन्दीलाई आयआर्जनसँग जोड्न उनीहरुलाई विभिन्न सीपहरु सिकाउने र उनीहरुले उत्पादन गरेका वस्तुहरू प्रदेश सरकारले खरिद गर्ने कुरा पनि बताउनुभयो ।
    कारागार सुरक्षार्थ खटिएका करिब ६० जना सुरक्षाकर्मीको आवासका लागि ब्यारेक निर्माण गर्न आगामी आर्थिक वर्षमा बजेट बिनियोजन गर्ने प्रतिबद्धता समेत मन्त्री श्रेष्ठले गर्नुभयो ।