• फागुन ५, सिन्धुली/सिन्धुलीमाढिमा भोलि शनिबारबाट जिल्लास्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता हुने भएको छ ।

    प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठले गर्ने कार्यक्रम रहेको आयोजक जिल्ला खेलकुद विकास समिति सिन्धुलीका अध्यक्ष विशाल थिङ्ले जानकारी दिनुभयो । प्रतियोगितामा जिल्लाका ९ वटै पालिकाका गरी करिब ५ सय खेलाडी सहभागि हुने आयोजकले जनाएको छ ।

    खेलाडीले विहान ८ बजे सिन्धुलीमाढी बजारमा मार्चपास गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिताको उद्घाटन शनिबार बिहान ११ बजे कनपा.६ स्थित खम्बेचौरमा गरिनेछ । प्रतियोगिताको लागि सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । जिल्लाका सवै पालिकाहरुबाट विभिन्न विधाका खेलाडीहरु छनौट भई जिल्लामा सिफारिस भएका छन् । खेलाडीहरुले तोकिएको निर्देशिका अनुसार सहभागि भएमा मात्रै खेलमा समाबेश गराइने अध्यक्ष थिङ्गले बताउनु भयो ।

    बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको छनौटको लागि जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको आयोजना गरिएको हो । राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो र कराँते खेल खेलाइनेछ । भोलि शनिबारबाट सुरु हुने प्रतियोगिता फागुन ८ गते सोमबारसम्म सन्चालन हुने छ ।