• माघ १२, सिन्धुली/सहिदका अधुरा सपना पूरा गर्नु आफ्नो पहिलो दायित्व रहेको बागमती प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठले बताउनुभएको छ ।

    बिहीबार गृह जिल्ला सिन्धुली आइपुग्नु भएका मन्त्री श्रेष्ठले सिन्धुलीको भिमानमा सम्पूर्ण सहिदहरु प्रति श्रद्धा–शुमन ब्यक्त गर्दै सहिदको वीरगतिका कारण अहिलेको शुखद अवस्था सिर्जना भएको धारणा व्यक्त गर्नुभयो । मन्त्री श्रेष्ठले सहिदहरुको सपनालाई बिचलित हुन नदिई पूरा गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । सिन्धुली बलिदान दिने सहिदहरुको सहिद भूमि रहेको स्मरण गराउँदै मन्त्री श्रेष्ठले भन्नुभयो “जनयुद्धको क्रममा सिन्धुलीमा लगभग २ सय जना सहिद हुनुभएको छ । सहिदहरुको शहादत पछि सिन्धुलीमा राजनीतिक चेतनाको विकास भएको हो ।” यसै घटनाक्रमबाट अभिप्रेरित भएर आफूले राजनीतिक भूमिमा पाइला टेकेको पनि उहाँले बताउनु भयो ।

    उहाँले भन्नुभयो “हिजो सहिदहरुको उच्चतम जीवन बलिदानले गर्दा देशमा २ सय ४० बर्ष पूरानो एकात्मक सामन्ति राजतन्त्रको अन्त्य भएर संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सुरुवात भएको छ ।” आफ्नो उच्चतम जीवन बलिदानी दिएर पनि अधुरै रहेका सहिदका सपना पूरा गर्नु आफ्नो पहिलो दायित्व रहेको मन्त्री श्रेष्ठको भनाई छ । सहिदहरुको बलिदानीको परिणाम सिन्धुलीमा राजनीतिक चेतनाको विकास भएको र यसलाई अझै उँचो बनाउन आवस्यक रहेको मन्त्री श्रेष्ठले बताउनुभयो ।