• सिन्धुली/कमलामाई नगरपालिका वडा नं.५ का वडा अध्यक्ष पूर्ण वहादुर खड्काले यहाँको पञ्चकन्या प्राविका विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गर्नुभएको छ । आइतबार एक औपचारीक कार्यक्रमका बीच अध्यक्ष खड्काले उक्त विद्यालयका २७ जना विद्यार्थीहरुलाई एक वर्षका लागि पुग्ने स्टेशनरी सामाग्री वितरण गर्नुभएको हो ।

    कमलामाई नगरपालिका वडा नं.५ ऐसेलुजंघारमा अवस्थित पञ्चकन्या प्राविमा अधिकांश न्युन आयस्तर भएका विपन्न वर्गका बालबालिकाहरु अध्ययन गर्दछन् । त्यसो त केहि समय अगाडी उक्त विद्यालय मर्ज हुने अवस्थामा थियो । तर अध्यक्ष खड्काको पहलमा मर्ज हुनबाट जोगिएको हो । ‘यो विद्यालय मर्ज हुनबाट जोगाउनका लागि मैले पाँच कक्षाबाट तीन कक्षामा झार्नुपर्ने बाध्यता स्वीकारेको छु । तसर्थ यसको विकास र श्रीवृद्धिका लागि म जस्तोसुकै जोखिम सहन तयार छु’ अध्यक्ष खड्काले भन्नुभयो ।

    स्टेशनरी सामाग्री वितरण गर्दै वडा अध्यक्ष पूर्ण बहादुर खड्का
    फोटो : कल्पना भुजेल

    भौगोलिक विकटका कारण बालबालिकाहरुलाई विद्यालय आवत जावत गर्न समस्या नहोस् भनेर अध्यक्ष खड्काको पहलमा सडक बाटो निर्माण भएको छ । खोल्सी र खहरे उर्लेपछि विद्यालय जाने बाटो बन्द हुने देखिएपछि खड्काकै पहलमा पुल निर्माण भएको छ । अधिकांश विपन्न वर्गका बालबालिकाहरु अध्ययन गर्ने उक्त विद्यालयमा अहिले बाल कक्षा देखि ३ कक्षासम्म पढाई हुन्छ । शैक्षिक सामग्रीको अभावमा विद्यार्थीहरु आउन छाडेको कुरा थाहा पाएपछि अध्यक्ष खड्काले व्यक्तिगत लगानीमा २७ जना बालबालिकालाई कपि, पेन्सिल, पेन्सिल कटर र इरेजर लगायतका स्टेशरी सामाग्री उपलव्ध गराउनुभएको हो । साथै अध्यक्ष खड्काले वडा कार्यालयको तर्फबाट विद्यालयका लागि स्वास्थ्य सामाग्री मास्क, सेनिटाइजर र डिटोल समेत प्रदान गर्नुभएको छ ।

    वडा अध्यक्षले विद्यालयका लागि गर्नुभएको सहयोग र पुर्याउनुभएको योगदानप्रति सम्मान व्यक्त गर्दै प्रधानाध्यापक मन्जु कोइरालाले अध्यक्ष खड्कालाई विद्यालय परिवारको तर्फबाट धन्यवाद व्यक्त गर्नुभएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठको अध्यक्षता तथा वडा अध्यक्ष पूर्ण वहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा सचिव उज्ज्वल विक्रम थापा, वडाका कर्मचारीहरु, पत्रकार, स्थानीय अभिभावक, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

    त्यसो त अध्यक्ष खड्का विपन्न वर्गका बालबालिकाहरुका लागि एक अभिभावक नै बन्नुभएको छ । यसअघि पनि वहाँले आफ्नो व्यक्तिगत लगानीमा जनज्योति मावि फोस्रेटार र कमला जनज्योति मावि सिलामेका विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री उपलव्ध गराइसक्नुभएको छ । स्टेशनरीको अभावमा कुनै पनि विद्यार्थीले विद्यालय छोड्न नपरोस् भन्ने उद्देश्यले यस्तो सहयोगी कर्मलाई निरन्तरता दिएको अध्यक्ष खड्काको भनाई छ । आफ्नो वडामा भएका विद्यालय उमेर समूहका कुनै पनि बालबालिका विद्यालय जानबाट वन्चित नहोउन् भन्ने उद्देश्य सहित शैक्षिक उन्नयनका लागि आफू सँधै तयार रहेको अध्यक्ष खड्काले बताउनुभयो ।