• सिन्धुली/सुरक्षित वैदेशिक रोजगार सम्वन्धि पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रम आइतबार सिन्धुलीमाडीमा सम्पन्न भएको छ । रिलिफ नेपालको आयोजनामा सुरक्षित आप्रवासन परियोजना(सामी) अन्तरगत वैदेशिक रोजगार सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
    अन्तरक्रिया कार्यक्रममा वैदेशिक रोजगारसंग सम्वन्धित विभिन्न विषयमा छलफल तथा प्रस्तुतिकरण समेत भएको थियो । नेपालमा वैदेशिक रोजगारको अवस्था, अवसर तथा चुनौति, सामी परियोजनाको परिचय तथा अपेक्षित उपलव्धिहरु, परियोजना अन्तरगतका समग्र प्रयास एवं मनोसामाजिक परामर्श लगायतका विषयमा सामी परियोजनाका प्रदेश संयोजक तरुणकान्त अधिकारीले प्रष्ट्याउनुभएको थियो । त्यस्तै कमलामाई नगरपालिका सामाजिक विकास शाखाका बबिन्द्रलाल माझिले सुरक्षित वैदेशिक रोजगार सम्वन्धि नेपालको संविधान, स्थानीय सरकार सन्चालन ऐन २०७४ र वैदेशिक रोजगारसंग सम्वन्धित स्थानीय सरकारको प्राथमिकताका बारेमा प्रस्तुति दिनुभएको थियो ।


    कार्यक्रममा सामी परियोजनाका जिल्ला संयोजक के.आर.विजयले कार्यक्रम सन्चालन संगै सिन्धुली जिल्लामा परियोजना अन्तरगतका कार्यक्रमहरुको वार्षिक उपलव्धिका बारेमा जानकारी गराउनुभएको थियो । अन्तरक्रियामा जिल्लाका ३० भन्दा बढि पत्रकार, सन्चारकर्मी लगायत अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

    श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वीस सरकारको आर्थिक सहयोगमा रिलिफ नेपालले सिन्धुलीका चारवटा स्थानीय तहमा सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तरगत विभिन्न कार्यक्रमहरु सन्चालन गरिरहेको छ । कमलामाई नगरपालिका, दुधौली नगरपालिका, हरिहरपुरगढी गाउँपालिका र तीनपाटन गाउँपालिका गरि चारवटा स्थानीय तहमा परियोजना अन्तरगतका कार्यक्रमहरु सन्चालनमा छन् । त्यस्तै नेपालका ३९ वटा जिल्लाका जम्मा १५६ स्थानीय तहमा उक्त परियोजना सन्चालन भैरहेको छ