• सिन्धुली, १४ जेष्ठ । सिन्धुलीमा कोरोना विमा प्रति आकर्षण वढ्दै गएको छ । विमा कम्पनीहरुले विश्वव्यापी फैलिरहेको कोरोना भाइरसबाट लाग्ने कोभिड–१९ रोगको विमा गर्न थाले पछि सिन्धुलीमा पनि यसप्रति आकर्षण वढेको हो ।
    सिन्धुलीमा रहेका ४ ओटा ननलाईफ बिमा कम्पनीहरुले कोरोना बिमा गरिरहेका छन् । जोखिम मोलेर नै कार्यक्षेत्रमा खटिनु पर्र्ने नीजि क्षेत्र, सहकारीकर्मी, पत्रकारहरु, बैंक तथा बित्तिय क्षेत्रका कर्मचारीहरु तथा मानव अधिकारको क्षेत्रमा काम गर्नेहरु कोरोना बिमा तर्फ अकर्षित भई रहेका छन् ।
    हालसम्म सिन्धुलीमा प्रभु इन्स्योरेन्समा करिब ४० जनाको, प्रिमियर इन्स्योरेन्समा करिब २० जनाको र नेको इन्स्योरेन्समा १० जनाको कोरोना बिमा भएको सम्बन्धित कम्पनीहरुले दावी गरेका छन् । एक लाखको विमा गर्नु पर्दा सामूहिक गर्दा प्रति व्यक्ति ६ सय र एकल गर्दा एक हजार लाग्छ । कोरोना पोजेटिभ देखिएमा एक मुष्ट रकम प्राप्त हुने भएकोले पनि यस विमा तर्फ बिमितहरु आकर्षित भएका हुन् । महामारीको अवस्थामा धेरै प्रचारप्रसार नभए पनि स्वतस्फूर्त विमा गर्न आउने गरेको प्रभु इन्स्योरेन्स शाखा सिन्धुलीका प्रवन्धक सुदर्शन शाहीले वताउनु भयो ।
    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सिन्धुली शाखाले पनि फोनिज सम्बद्ध अग्रपङ्तिमा रहेर काम गर्ने पत्रकारहरुको कोरोना बिमा गरेको छ । सवैको एक एक लाखको बिमा गरेको फोनिज सिन्धुलीले जनाएको छ । बिमा भुक्तानी बापतको सम्पूर्ण रकम फोनिज जिल्ला शाखा सिन्धुलीले भुक्तानी गरेको हो ।

    सहकार्य नेपालले गरायो सबै कर्मचारीको कोरोना विमा
    सहकार्य नेपालले संस्थामा कार्यरत सम्पुर्ण कर्मचारीको कोरोना विमा गराएको छ । संस्थामा कार्यरत कर्मचारीहरुको एभरेष्ट इन्स्योरेन्स सिन्धुलीमा एक–एक लाखको कोरोना विमा गराएको एभरेष्ट इन्स्योरेन्स सिन्धुलीका शाखा प्रबन्धक राजु सापकोटाले जानकारी दिनुभयो ।