दलित बस्तीमा स्वच्छ खानेपानी पहुँच विस्तार गर्न ट्यांकी वितरण
सिन्धुली/जनसहभागितामा आधारित ज्यामिरे दलित बस्तीमा खानेपानी सुदृढीकरण अन्तरर्गत सिन्धुलीको कमलामाई नगरपालिका ४ ले खानेपानीको ट्यांकी वितरण गरेको छ ।
वडाले आज एक कार्यक्रमको आयोजना गर्दे कमलामाई ४ ज्यामिरेका १७ घर धुरी दलित परिवारलाई खानेपानीको ट्यांकी वितरण गरेको हो ।
पिउन, खाना पकाउन, सरसफाइ गर्न र अन्य घरेलु कार्यका लागि पानीको निकै आवश्यकता पर्ने बताउनुहुँदै दलित समुदायमा स्वच्छ र सुरक्षित खानेपानीको पहुँच बढाउने उद्देश्यका साथ घरायसी प्रयोगको लागि पानी भण्डारण गर्न ट्यांकीहरू वितरण गरिएको कमलामाई नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष महेन्द्र प्रशाद ढकालले जानकारी दिनुभयो ।
सोही अवसरमा बोल्नुहुँदै कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले किसानहरुलाई खेतीपाती गर्न र पशुपालन तथा विभिन्न उद्योग सञ्चालनका लागि पानी निकै आवश्यक रहेको बताउनुहुँदै ट्यांकीको सहि सदुपयोग गरेर प्रयोग गर्न आग्रह गर्नुभयो ।त्यस्तै उहाँले यस वर्ष पनि दलित समुदाय र नेपालमै बसेर केही गर्न चाहने युवाहरूलाई लक्षित गरी बजेट विनियोजन गरिएको बताउनुभयो ।
कमलामाई नगरपालिका वडा–४ को आयोजना तथा ज्यामिरे दलित बस्तीको साझेदारीमा १७ घर परिवारलाई खानेपानीको ट्यांकी वितरण गरीएको हो । कार्यक्रमको सहजिकरण कमलमाई ४ का वडा सचिव रविन योञ्जनले गर्नुभएको थियो ।
कार्यक्रममा वडा सदस्यहरु धन कुमारी श्रेष्ठ, शिव कुमारी रायमाझी,आकाश श्रेष्ठ र गोरी माया विसुन्के लगाएत वडाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।



