निरन्तरजसो भइरहेको वर्षाले सिन्धुलीमा घट्यो वन डढेलो

सिन्धुली /गत वर्षको तुलनामा यस वर्ष सिन्धुलीमा डढेलोको घटना निकै कम भएको छ ।
विगत दुई महिना देखी परेको अविरल वर्षाको कारणले गर्दा सिन्धुली जिल्लामा वन डढेलोका घटना गत वर्षको तुलनामा निकै कम भएको हो ।

चैत र वैशाख महिनालाई वन डढेलोको उच्च जोखिमयुक्त समय मानिए पनि यस वर्ष निरन्तरजसो भइरहेको वर्षाले डढेलो नियन्त्रणमा ठूलो भूमिका खेलेको स्थानीयहरू बताउँछन् । यस वर्ष जिल्लाको तीन स्थानमा सानो डढेलो लागेको थियो, जसलाई स्थानीयहरु र प्रहरीहरु मिलेर नियन्त्रणमा लिएका थिए ।

गत वर्ष जिल्लाभर ७५८.५ हेक्टर वन क्षेत्रमा डढेलो लागेको थियो तर यस वर्ष भने वैशाखको महिनाको तेस्रो हप्ता बितिसक्दा पनि जिल्लाभर लगभग ५० हेक्टर क्षेत्रफलमा डढेलो लागेको डिभिजन वन कार्यालय सिन्धुलीका कार्यालय प्रमुख राज कुमार भण्डारीले सिन्धुली खबरलाई जानकारी दिनुभयो ।

जिल्लामा कुल २ लाख ४९ हजार १०० हेक्टर क्षेत्रफलमध्ये १ लाख ६० हजार १९१ हेक्टर वन क्षेत्र रहेको छ ।

डढेलो नियन्त्रणका लागि जिल्लाका सामुदायिक वन उपभोक्ता समूहहरूले अग्निरेखा निर्माण, झाडी सरसफाइ लगायतका पूर्वतयारीका कामहरु गरीरेका छन् भने डढेलो लगाउने कार्यहरु पनि दिनप्रतीदिन घट्दै गएको छ ।

डढेलो लगाउने कार्यहरु कम गर्न जिल्लामा रहेका सामुदायिक वन उपभोक्ता समूहसँगको समन्वयमा जनचेतनामूलक कार्यक्रम, सडक नाटक, तथा अग्नि नियन्त्रणका विभिन्न गतिविधि सञ्चालन गरीरहेको डिभिजन वन कार्यालय सिन्धुलीका कार्यालय प्रमुख राज कुमार भण्डारीले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *