पानीको बहाव बढेपछि बीपी राजमार्ग पुनः अवरुद्ध

सिन्धुली/पानीको बहाव एक्कासि बढेपछि बीपी राजमार्ग फेरि बन्द भएको छ ।

तीन दिनदेखि अवरुद्ध राजमार्ग आज बिहान १० बजेदेखि अस्थायी रूपमा खुलेको थियो, तर केही घण्टामै पुनः बन्द भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीले सिन्धुली खबरलाई जानकारी दिनुभयो ।

उहाँको अनुसार अस्थायी ‘डाइभर्सन’ बनाएर आज बिहानैदेखि एकतर्फी सवारी आवागमन खुलाएको थियो तर मध्याह्नतिर रोशी खोलामा पानीको बहाव एक्कासि बढेपछि जोखिम बढेको भन्दै राजमार्ग फेरी पूर्ण रूपमा बन्द गरिएको हो ।

गत सोमबारको अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले राजमार्गको करिब २० मिटर सडक बगाएको थियो । त्यसयता यात्रुहरूले सास्ती भोग्दै आएका छन्। काठमाडौंबाट पूर्वी नेपाल जाने छोटो मार्ग भएकाले राजमार्ग बन्द हुँदा लामो दूरीका सवारी र मालवाहक ट्रकहरू समेत प्रभावित भएका छन्।

पानीको सतह नघटेसम्म र डाइभर्सन सुरक्षित नभएसम्म सडक नखुल्ने प्रहरीले जानकारी दिएको छ । खोलाको बहाव कम हुनासाथ मर्मत थाल्ने तयारी गरीएको छ भने हाललाई यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *