कमलामाईमा २९ जना स्वास्थ्य स्वयंसेविकालाई आधारभूत आँखा परीक्षण सम्बन्धी अभिमुखीकरण

सिन्धुली/कमलामाई नगरपालिका, सिन्धुलीमा स्वास्थ्य स्वयंसेविकाहरूका लागि आधारभूत आँखा परीक्षण तथा स्क्रिनिङ सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम समापन भएको छ ।

कार्यक्रममा २९ जना स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको थियो ।अभिमुखीकरण कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौँका हरिबहादुर कार्की, कुमार श्रेष्ठ र च्यावन आचार्यले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा आँखाको जाँच कहिले गर्ने, कसरी गर्ने तथा आँखासम्बन्धी समस्या पहिचान गर्न अपनाउनुपर्ने आधारभूत प्रक्रियाबारे सहभागीहरूलाई जानकारी गराइएको थियो ।

नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाका अध्यक्ष अशोक श्रेष्ठले आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजना गरिने बताउनुभयो । उहाँले सहभागीहरूलाई अभिमुखीकरणबाट सिकेका कुराको सदुपयोग गर्दै समुदायमा आँखासम्बन्धी सचेतना फैलाउन आग्रह गर्नुभयो ।

त्यस्तै कार्यक्रममा समापनमा बोल्दै तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौँका हरिबहादुर कार्कीले अभिमुखीकरणका क्रममा सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो । उहाँले सिकेका कुरालाई व्यवहारमा लागू गर्न सके समुदायस्तरमा आँखासम्बन्धी समस्या पहिचान गर्न ठुलो सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रमपछि सहभागी स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो ज्ञान र अनुभवमा वृद्धि भएको प्रतिक्रिया दिएका छन् । यस प्रकारका कार्यक्रमले समुदायमा आँखासम्बन्धी समस्या समयमै पहिचान गर्न र आवश्यक उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा जान प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखा र तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँको संयुक्त आयोजनामा भएको कार्यक्रमलाई द फ्रेड हलोज फाउन्डेसन/अस्ट्रेलियन एडले सहयोग गरेको थियो । कार्यक्रमको समन्वय कमलामाई नगरपालिका सिन्धुलीले गरेको थियो । कार्यक्रम संचालन नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका प्रमुख पवन पाख्रीनले गर्नुभएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *