अपाङ्गतालाई चुनौती दिँदै कांग्रेस महाधिवेशन प्रतिनिधिमा देवकोटाको उम्मेदवारी

सिन्धुली/“मेरो अपाङ्गता मेरो राजनीतिक यात्राको बाधक होइन, बरु समाजका वास्तविक सवाल बुझेर काम गर्ने मेरो अनुभव हो ।

” यही दृढताका साथ सिन्धुलीकी दिलकुमारी देवकोटा (दिपा) ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि विभिन्न तहका अधिवेशन सम्पन्न गर्दै केन्द्रीय महाधिवेशनको तयारी अघि बढाइरहेको छ । सिन्धुलीका ९ वटै स्थानीय तहमा नेतृत्व चयन तथा क्षेत्रीय प्रतिनिधि छनोटको प्रक्रिया सम्पन्न भइसकेको अवस्थामा देवकोटाले महाधिवेशन प्रतिनिधिका लागि आफ्नो उम्मेदवारी सार्वजनिक गर्नुभएको हो । पार्टीको आधिकारिक निर्वाचन कार्यतालिका अनुसार केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने तय गरिएको छ ।

देवकोटाले पछिल्लो राजनीतिक तथा सामाजिक परिवेशले आफूलाई राजनीतिमा सक्रिय हुने प्रेरणा दिएको बताउनुभएको छ । “देशको परिवेशले केही हदसम्म भए पनि राम्रो गर्न सकिन्छ कि भनेर राजनीतिमा आएको हुँ,” उहाँले भन्नुभयो ।

युवाहरूले चाहे परिवर्तन सम्भव छ भन्ने सन्देश आफूले पछिल्लो ‘जेन्जी आन्दोलन’ बाट समेत पाएको उहाँको भनाइ छ । त्यसबाट आफूलाई अझ उत्साहित बनाएको बताउँदै देवकोटाले युवाको सक्रियता र इच्छाशक्तिले समाजमा परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गर्नुभएको छ ।

अपाङ्गता भएका व्यक्तिका लागि समाजमा अझै पनि विभिन्न किसिमका अवरोध र पूर्वाग्रह रहेको उल्लेख गर्दै उहाँले आफू त्यसलाई व्यवहारबाटै चुनौती दिन राजनीतिमा आएको बताउनुभयो ।

“म आफैँ अपाङ्गता भएको व्यक्ति हुँ । हामी पनि सबै काम गर्न सक्छौँ । राजनीतिमा पनि अगाडि बढ्न सक्छौँ । मेरो अपाङ्गताले मलाई रोक्दैन भन्ने सन्देश दिन पनि मैले उम्मेदवारी घोषणा गरेकी हुँ,” देवकोटाले भन्नुभयो ।

उहाँले आफ्नो उम्मेदवारीलाई अपाङ्गता भएका व्यक्तिको कोटा वा सहानुभूतिसँग मात्र जोडेर नहेर्न आग्रह समेत गर्नुभएको छ । उहाँका लागि उम्मेदवारी लामो समयदेखि गर्दै आएको काम, अनुभव र समुदायका वास्तविक सवाललाई राजनीतिक तहसम्म पु¥याउने प्रयास हो ।“मेरो लागि अपाङ्गता कुनै सहानुभूतिको विषय होइन; यो अधिकार, समानता र सहभागिताको विषय हो,” देवकोटाको भन्नुभयो ।

देवकोटाले अपाङ्गता भएका व्यक्तिको अधिकार, सम्मानित जीवन, समान अवसर, पहुँच र अर्थपूर्ण सहभागिताका लागि निरन्तर काम गर्दै आएको बताउनुभएको छ । साथै महिला तथा बालबालिका, नेतृत्व विकास, पुनस्र्थापना, सीप विकास, सामाजिक सुरक्षा तथा अधिकारका विषयमा समुदायदेखि सरोकारवाला निकायसम्म आवाज उठाउँदै आएको उहाँको दाबी छ ।

उहाँले आफ्नो उम्मेदवारीलाई “कामबाट सिकेको अनुभव र समुदायका वास्तविक सवाललाई राजनीतिक तहसम्म पु¥याउने जिम्मेवारी” का रूपमा लिन आग्रह गर्नुभएको छ ।“मेरो परिचय मेरो प्रतिबद्धता हो, मेरो आधार मेरो काम हो र मेरो आवाज समान अधिकार र सम्मानित जीवनका लागि हो,” देवकोटाले भन्नुभयो ।

देवकोटाको उम्मेदवारीले अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक सहभागिता, समान अवसर र नेतृत्वमा पहुँचको सवाललाई समेत कांग्रेसको महाधिवेशनसँगै थप बहसमा ल्याएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *