सिन्धुली–२ मा युवा नेता समीर विक्रमको उम्मेदवारी, युवा र जेन्जीको साथ पाउने अपेक्षा सहित मैदान उत्रिए
सिन्धुली/यतिबेला नेपाली काँग्रेस १५औँ महाधिवेशनको तयारीमा छ । सिन्धुलीका ९ वटै स्थानीय तहले नेतृत्व चयन गरिसकेको छ भने क्षेत्रिय प्रतिनिधि समेत छनौट गरिसकेको छ ।
यसैक्रममा सिन्धुली क्षेत्र नं.२ बाट युवा नेता समीर विक्रम थापाले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । काँग्रेसले १५औँ महाधिवेशन अन्तर्गत विभिन्न तहका अधिवेशन सम्पन्न गर्दै केन्द्रीय महाधिवेशनको तयारी अघि बढाएको छ । पार्टीको आधिकारिक निर्वाचन कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने तय गरिएको छ ।
क्षेत्र नं. २ बाट युवा पुस्ताको प्रतिनिधित्व गर्दै थापाले संघीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेदवारी घोषणा गर्दै थापाले समावेशी, न्यायपूर्ण र समृद्ध नेपाल निर्माणसँगै पार्टीका हरेक गतिविधिमा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ । थापाले रोजगार, शिक्षा र उद्यमशीलतालाई प्राथमिकतामा राख्दै युवा पुस्तालाई अवसर र नेतृत्वसँग जोड्नुपर्ने धारणा अघिसार्नुभएको छ ।
‘युवा बदलिँदा मात्रै देश बदलिन्छ’ भन्ने मान्यतालाई आफ्नो राजनीतिक एजेन्डाको आधार बनाएका थापाले समृद्ध नेपाल निर्माणका लागि युवापंक्ति एकताबद्ध हुनुपर्ने बताउनुभयो । थापाले जेन्जी पुस्ताको ऊर्जा र युवा शक्तिलाई सकारात्मक परिवर्तनको संवाहकका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।
सिन्धुली क्षेत्र नं. २ को महाधिवेशन प्रतिनिधि चयनमा निकै प्रतिस्पर्धा हुने देखिएको छ । यसअघि पनि क्षेत्र नं. २ बाट विभिन्न आकांक्षीले महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । थापाले महाधिवेशन प्रतिनिधिहरूलाई आफ्नो मतको विवेकपूर्ण प्रयोग गर्न आग्रह गर्दै आफूलाई सहयोग गरी समृद्ध र सुदृढ काँग्रेस निर्माणको अभियानमा हातेमालो गर्ने अवसर प्रदान गर्न अपिल गर्नुभएको छ ।


