कांग्रेस महाधिवेशन : युवाको बढ्दो दाबी
सिन्धुली/नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सिन्धुलीमा युवा पुस्ताको सहभागिता, नेतृत्व विकास, पुस्तान्तरण र समावेशी प्रतिनिधित्वको विषयले चर्चा पाउन थालेको छ ।
महाधिवेशनमा नयाँ पुस्तालाई नीति निर्माण र निर्णय प्रक्रियामा अर्थपूर्ण भूमिका दिनुपर्ने धारणा राख्दै विभिन्न युवा तथा समावेशी समूहका नेताहरूले उम्मेदवारी अघि सारेका छन् ।
नेपाली कांग्रेस सिन्धुली क्षेत्र नं. १ बाट भरत विकले दलिततर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका छन् । विद्यार्थी नेताका रूपमा राजनीतिक यात्रा सुरु गरेका विकले युवा सहभागिता, पुस्तान्तरण, सुशासन तथा देशमै बसेर अवसर सिर्जना गर्न सक्ने वातावरण निर्माणलाई आफ्नो प्राथमिकतामा राखेका छन् ।

विकका अनुसार उनी २०७० सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् । विद्यालय तहदेखि नै नेपाल विद्यार्थी संघको एकाइ सभापतिको जिम्मेवारी सम्हाल्दै राजनीतिक यात्रा अघि बढाएका उनी हाल नेपाल विद्यार्थी संघ सिन्धुलीको जिल्ला अध्यक्षका रूपमा सक्रिय छन् ।
शिक्षित र नयाँ सोच भएको नेतृत्व आवश्यक रहेको बताउँदै विकले आफूले डिग्री तहको अध्ययन पूरा गरेको र हाल एलएलबी अध्ययन गरिरहेको जानकारी दिएका छन् ।
उनले युवालाई चुनावका बेला मात्रै परिचालन गर्ने प्रवृत्तिको अन्त्य गर्दै नीति निर्माण र निर्णय प्रक्रियामा समेत अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने बताएका छन् । अवसरको अभाव, गुटबन्दी तथा निर्णय प्रक्रियामा पर्याप्त पहुँच नहुनु युवाले भोगिरहेका प्रमुख चुनौती भएको उनको भनाइ छ ।
“व्यक्तिभन्दा पार्टी र संस्थालाई बलियो बनाउने नेतृत्व आवश्यक छ । युवालाई प्रतिनिधित्व मात्र होइन, जिम्मेवारी र निर्णय गर्ने ठाउँ पनि दिनुपर्छ,” विकले भने ।
युवाहरू विदेश पलायन भइरहेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै विकले देशमै बसेर केही गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । व्यक्तिगत सुख–सुविधाभन्दा देश र समाजमा परिवर्तन ल्याउने उद्देश्यले आफू राजनीतिमा सक्रिय रहेको उनको भनाइ छ ।
यसैगरी समिर विक्रम थापाले पनि सिन्धुली क्षेत्र नम्बर २ बाट १५औँ महाधिवेशनमा युवा प्रतिनिधित्वलाई प्राथमिकतामा राख्दै आफ्नो उम्मेदवारी अघि सारेका छन् । उनले युवा पुस्तालाई पार्टीको नीति निर्माण र नेतृत्व तहमा अर्थपूर्ण रूपमा सहभागी गराउनुपर्ने धारणा राखेका छन् ।
थापाका अनुसार उनले २०७० सालको संविधानसभा निर्वाचनको समयदेखि नेपाली कांग्रेससँग जोडिएर राजनीतिक यात्रा सुरु गरेका हुन् । विद्यार्थी आन्दोलनमा सक्रिय हुँदै नेपाल विद्यार्थी संघको जिल्ला सचिवको जिम्मेवारी सम्हालेका उनले नेपाली कांग्रेस कमलामाई नगरपालिका-६ को सचिव तथा नेपाल सांस्कृतिक संघ सिन्धुलीको जिल्ला अध्यक्षको कार्यवाहक जिम्मेवारीसमेत सम्हालेको बताएका छन् ।

राजनीतिमा युवाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै थापाले युवासँग नवीन सोच, ऊर्जा, प्रविधिमैत्री दृष्टिकोण र परिवर्तनको चाहना हुने भएकाले पार्टीको नीति निर्माण तथा नेतृत्व तहमा उनीहरूको सहभागिता आवश्यक रहेको बताए ।
“परिवर्तनको हुटहुटी छ । व्यक्तिगत सुख-सुविधाभन्दा देशमै केही गर्नुपर्छ र आफ्नै माटोमा परिवर्तन ल्याउनुपर्छ भन्ने दृढता छ,” थापाले भनेका छन् ।
विद्यार्थी नेताका रूपमा विद्यार्थी तथा युवाका मुद्दामा सक्रिय रहेको उल्लेख गर्दै थापाले सिन्धुलीको जेन्जी आन्दोलनमा समेत अगुवाइको भूमिका निर्वाह गरेको दाबी गरेका छन् । आन्दोलनका मागलाई लोकतान्त्रिक प्रक्रियामार्फत नेपाली कांग्रेसभित्र स्थापित गराउन आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ ।
युवा पुस्ताको प्रतिनिधित्वको बहसमा सिन्धुली क्षेत्र नम्बर १ बाट २५ वर्षीय सुशील कोइराला पनि जोडिएका छन् । गोलन्जोर गाउँपालिकामाका इन्जिनियरिङ पृष्ठभूमिका युवा कोइराला आफ्नो पेशागत जिम्मेवारीसँगै सामाजिक कार्यमा समेत सक्रिय रहेका उनी विद्यार्थी जीवनदेखि नै राजनीतिमा जोडिएका हुन् ।
सामान्य परिवारबाट आएका कोइरालाले बीपी कोइरालाको विचार र लोकतान्त्रिक मूल्यबाट प्रभावित हुँदै नेपाल विद्यार्थी संघमार्फत राजनीतिक यात्रा सुरु गरेको बताएका छन् । पार्टीमा निरन्तरको सक्रियता तथा साथीभाइ र अग्रजहरूको विश्वासका कारण क्षेत्रीय प्रतिनिधिका रूपमा चयन हुने अवसर पाएको उनको भनाइ छ ।

महाधिवेशनमा आफ्नो सहभागितालाई व्यक्तिगत उपलब्धिभन्दा पनि युवामाथिको विश्वास र जिम्मेवारीका रूपमा लिएको कोइराला बताउँछन् । उनका अनुसार १५औँ महाधिवेशन नयाँ पुस्ताको आवाज राख्ने महत्वपूर्ण अवसर हो ।
“युवा केवल झण्डा बोक्ने र नारा लगाउने होइन, नीति निर्माण र नेतृत्वमा पनि सहभागी हुनुपर्छ । अनुभव र नयाँ पुस्ताको सोच मिलेर नै पार्टी बलियो हुन्छ,” कोइरालाले भने ।
पार्टीभित्र युवाले अवसर र निर्णय प्रक्रियामा पर्याप्त पहुँच नपाउनु प्रमुख समस्या रहेको उनको बुझाइ छ । क्षमता भएका युवाले समेत लामो समय अवसर पर्खिनुपर्ने अवस्थाको अन्त्य गर्दै नेतृत्व विकास र जिम्मेवारी दिने स्पष्ट वातावरण निर्माण गर्नुपर्ने उनी बताउँछन् ।
आगामी नेतृत्वबाट व्यक्तिभन्दा पार्टी र संस्थालाई बलियो बनाउने संस्कारको अपेक्षा गर्दै कोइरालाले योग्य र इमानदार कार्यकर्ताले अवसर पाउने वातावरण आवश्यक रहेको बताए ।“मेरो पुस्ता राजनीतिमा दर्शक होइन, जिम्मेवार साझेदार बन्न चाहन्छ,” कोइरालाले भने ।
उनले १५औँ महाधिवेशनमा युवा सहभागिता, पुस्तान्तरण, सुशासन र अवसरको समानतालाई प्रमुख मुद्दाका रूपमा उठाउन चाहेको बताएका छन् । युवालाई प्रतिनिधित्वमा सीमित नराखी जिम्मेवारी र निर्णय गर्ने तहसम्म पु¥याउनुपर्ने उनको जोड छ ।
यसैबीच दिलकुमारी देवकोटा (दिपा) ले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुली क्षेत्र नं. २ बाट अपाङ्गता तर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी घोषणा गरेकी छन् ।
अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, पहुँच, समान सहभागिता र सम्मानित जीवन सुनिश्चित गर्न आफ्नो उम्मेदवारी रहेको देवकोटाले बताएकी छन् । वर्षौंदेखि अपाङ्गता भएका व्यक्तिहरूले भोग्दै आएका विभेद, अवरोध र अवसरको कमीलाई नीतिगत तहमा उठाउने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ ।

देवकोटाले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत राजनीतिक यात्राभन्दा पनि अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको अधिकार र आवाजलाई प्रतिनिधित्व गर्ने अवसरका रूपमा लिएकी छन् ।
“अपाङ्गतालाई मैले मेरो अवसर, ऊर्जा र क्षमताका रूपमा लिएको छु। अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, पहुँच र सहभागिता सुनिश्चित गर्दै सम्मानित जीवनको वातावरण निर्माण गर्नु मेरो मुख्य उद्देश्य हो,” उनले भनेकी छन् ।
उनले समावेशी समाज निर्माणलाई आफ्नो प्रमुख लक्ष्यका रूपमा अघि सारेकी छन् । राजनीतिक दलको नीति निर्माण तथा निर्णय प्रक्रियामा अपाङ्गता भएका व्यक्तिहरूको समान र अर्थपूर्ण सहभागिता सुनिश्चित हुनुपर्ने उनको धारणा छ ।
१५औँ महाधिवेशनको पूर्वसन्ध्यामा सिन्धुलीबाट अघि सारिएका यी उम्मेदवारीहरूले युवा पुस्ताको नेतृत्वमा पहुँच, पुस्तान्तरण तथा समावेशी प्रतिनिधित्वको बहसलाई थप सतहमा ल्याएका छन् भने नयाँ पुस्ताका उम्मेदवारहरूले पार्टीभित्र अवसर र जिम्मेवारीको माग गरिरहँदा समावेशी प्रतिनिधित्वका उम्मेदवारहरूले आफ्नो समुदायका मुद्दालाई नीति निर्माणको तहसम्म पु¥याउने विषयलाई प्राथमिकतामा राखेका देखिएको छ ।


