तीनपाटनमा स्वास्थ्यकर्मी–पालिका टकराव चुलियो, माग सम्बोधनको साटो विभागीय कारबाहीको चेतावनी

सिन्धुली/तीनपाटन गाउँपालिकाले स्वास्थ्यकर्मीहरूले उठाएका सेवा सुविधासम्बन्धी माग सम्बोधन गर्नुको साटो कर्मचारीमाथि विभागीय कारबाही अघि बढाउने चेतावनी सहितको विज्ञप्ती प्रकाशित गरेको भन्दै तीनपाटन स्वास्थ्य संघर्ष समितिले आपत्ति जनाएको छ ।

गाउँपालिकाले यही असोज ५ गते जारी गरेको विज्ञप्तिमा गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा औषधिको माग, आपूर्ति तथा गुणस्तरको अनुगमन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी सर्वदलीय/सर्वपक्षीय समिति गठन गर्ने निर्णय गरेको उल्लेख छ । पालिकाले आफ्ना मातहतका स्वास्थ्यकर्मी कर्मचारीले रातको समय तथा सार्वजनिक बिदाको दिन ड्युटी गरेबापत भत्ता माग गरेमा प्रचलित कानूनबमोजिम भत्ता उपलब्ध गराउने निर्णयसमेत गरेको छ । तर अन्य मागहरु भने सम्वोधन गरिएको छैन ।

स्वास्थ्य कर्मचारीहरूको जायज माग सम्बोधन गर्नुपर्नेमा उल्टै विभागीय कारबाहीको चेतावनी दिएर दबाब सिर्जना गर्न खोजिएको तीनपाटन स्वास्थ्य संघर्ष समितिको आरोप छ । समितिका अनुसार स्वास्थ्यकर्मीहरूले उठाएका मागमध्ये एउटा विषयलाई मात्र सम्बोधन गर्ने र बाँकी विषयमा छानबिन समिति गठन गर्ने निर्णय गरेर मागलाई टार्ने प्रयास गरिएको छ । संघर्ष समितिले गाउँपालिकाको पछिल्लो निर्णयलाई स्वास्थ्यकर्मीहरूको माग सम्बोधन गर्नेभन्दा पनि आन्दोलनलाई कमजोर पार्ने र विषयलाई अल्झाउने प्रयासका रूपमा लिएको जनाएको छ ।

समितिले मागहरू पूर्णरूपमा सम्बोधन नगरे चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ । स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा कार्यरत कर्मचारीका जायज मागलाई वार्ता र संवादमार्फत समाधान गर्नुपर्नेमा कारबाहीको चेतावनी दिनु उचित नभएको समितिका संयोजक मदन विक्रम दाहालले बताउनुभयो । गाउँपालिकाको विज्ञप्तिमा भने सामाजिक सञ्जालमा औषधिको गुणस्तरसम्बन्धी समाचार आएपछि गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको र यथार्थ तथ्य पत्ता लगाउन सर्वदलीय/सर्वपक्षीय समिति गठन गर्ने निर्णय गरिएको उल्लेख छ । तर स्वास्थ्यकर्मीहरुको मागका विषयमा कुनै सम्वोधन गरिएको छैन ।

एस.बि.ए.तालिम प्राप्त स्वास्थ्यकर्मी बर्थिङ सेन्टरमा हुनुपर्ने हो । तर त्यहाँ खटाइएको छैन । उनिहरुलाई अन्य स्वास्थ्य सँस्थामा पठाएर तालिम नलिएका कर्मचारीलाई वर्थिङ सेन्टरमा पठाइएको छ । यो सवालमा संघर्ष समितिले सवाल उठाउँदा अध्यक्ष कर्ण बहादुर थापाले उल्टै हप्काइको शैलीमा “तालिम लिएको छु भनेर घमण्ड नगर्नु, जो जहाँ छ उसैले सवै काम गर्नुपर्छ” भन्दै रुखो जवाफ फर्काएको स्वास्थ्यकर्मीहरुको गुनासो छ ।

चैतर्फी आलोचनापछि छानविन समितिको सदस्य सचिवबाट हटाइए रामबेचन
अचम्मको कुरा त केछ भने पालिकाले निर्माण गर्ने भनिएको छानविन समितिको सदस्य सचिव नै स्वास्थ्यकर्मी माथि चरम विभेद गर्ने स्वास्थ्य संयोजक रामवेचन शाहलाई तोकिएको थियो । तर चौतर्फि विरोध र आलोचना आएपछि पालिकाले सदस्य सचिवमा शाहलाई हटाएर मेडिकल अधिकृत डा.गौरब श्रेष्ठलाई उक्त जिम्मेवारीमा राखेको छ । जो माथि छानविन र पदबाट राजिनामा दिनुपर्ने माग राखिएको छ उसैलाई छानविन समितिको सदस्य सचिवमा राखेको भन्दै पालिकाको चौतर्फि आलोचना भएको थियो । संघर्ष समितिले उनै शाहले पदबाट राजिनामा दिनुपर्ने माग समेत राखेका छन् ।

आवश्यक स्वास्थ्य सँस्थामा छैनन् तालिम प्राप्त कर्मचारी
तीनपाटन गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा चरम लापरबाही भैरहेका विषयहरु निकै अघिदेखि बाहिर आएका हन् । तर स्थानीय सरकारले सवै सुझाव र आलोचनालाई बेवास्ता गर्दैआइरहेको थियो । यतिसम्मको शासन तीनपाटनमा छ जहाँ तालिम प्राप्त स्वास्थ्यकर्मीलाई जरुरी भएको स्वास्थ्य संँस्थामा काम गर्न नदिएर अर्काे सँस्थामा पठाइएको छ । एस.बि.ए.तालिम प्राप्त स्वास्थ्यकर्मी बर्थिङ सेन्टरमा हुनुपर्ने हो । तर त्यहाँ खटाइएको छैन । उनिहरुलाई अन्य स्वास्थ्य सँस्थामा पठाएर तालिम नलिएका कर्मचारीलाई वर्थिङ सेन्टरमा पठाइएको छ । यो सवालमा संघर्ष समितिले सवाल उठाउँदा अध्यक्ष कर्ण बहादुर थापाले उल्टै हप्काइको शैलीमा “तालिम लिएको छु भनेर घमण्ड नगर्नु, जो जहाँ छ उसैले सवै काम गर्नुपर्छ” भन्दै रुखो जवाफ फर्काएको स्वास्थ्यकर्मीहरुको गुनासो छ । सुरक्षित शिशु र आमाको लागि बर्थिङ सेन्टरमा तालिम प्राप्त स्वास्थ्यकर्मीको व्यवस्था गर्ने सरकारको नीति अनुरुप स्वास्थ्यकर्मीहरुलाई एस.बि.ए. तालिम दिइन्छ ।

स्वास्थ्य संघर्ष समिति र पालिकाबीच चर्किँदै विवाद
यतिवेला पालिका अन्तर्गत काम गर्ने स्वास्थ्यकर्मीहरु र तीनपाटन गाउँपालिकाबीचको विवाद झन चुलिँदैगएको छ । तीनपाटन स्वास्थ्य संघर्ष समितिले गएको भदौ ३० गते स्वास्थ्य सेवासंग सम्वन्धित विभिन्न समस्याहरु समावेश गरि पालिकामा ज्ञापनपत्र बुझाएको थियो । तर ज्ञापन पत्र बुझेर जायज माग सम्वोधन गर्नुको सट्टा उल्टै स्वास्थ्यका कर्मचारीहरुलाई विभागिय कारवाही गर्ने धम्की सहितको विज्ञप्ती पालिकाले प्रकाशित गरेपछि स्वास्थ्यकर्मीहरु र स्थानीय सरकारबीचको दूरी झन् बढिरहेको छ ।

तीनपाटन स्वास्थ्य संघर्ष समितिले सिमित श्रोत साधनका बाबजुद उच्च मनोबलका साथ सेवा प्रवाह गरिरहेको अवस्थामा पालिकाले मनपरी ढंगले पटक पटक सरुवा गर्ने, स्वास्थ्य संयोजकले अनावश्यक दुःख दिने लगायतका कामहरु अविलम्ब बन्द गनुपर्ने तथा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूले सेवा–सुविधाका विषयमा कुरा उठाएकै भरमा एक महिनामै दुईपटकसम्म सरुवा गरेर स्वास्थ्यकर्मीहरुलाई दुःख दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने लगायतका मागहरु सहित पालिका अध्यक्ष कर्ण बहादुर थापालाई ज्ञापन पत्र बुझाएको थियो । तर उनै अध्यक्षले कार्यपालिकाको बैठक राखेर स्वास्थ्यकर्मीहरुको जायज मागलाई बेवास्ता गर्दै कर्मचारीहरुलाई छानीछानी विभागिय कारबाही गर्ने धम्की सहितको विज्ञप्ती निकालेका छन् । कर्मचारीहरुको मागलाई ढाकछोप गर्नका लागि पालिकाले औषधिको विषयलाई अघि सारेर छानविन समिति निर्माण गर्नलागेको संघर्ष समितिको ठहर छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *