विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघ, तालाबन्दीको चेतावनी

सिन्धुली/लोककल्याणकारी विज्ञापनको रकममा कटौती गर्ने गरी कार्यविधि संशोधन गरिएको भन्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुलीले आन्दोलनको चेतावनी दिएको छ ।

महासंघले संशोधित कार्यविधि तत्काल फिर्ता लिन माग गर्दै समस्या समाधान नभएसम्म जिल्ला हुलाक कार्यालय सिन्धुलीमा लोककल्याणकारी विज्ञापन बापतका बिल नबुझाउन छापा सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

महासंघले हुलाक कार्यालयलाई बुझाएको ज्ञापनपत्रमा ‘छापा माध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८३’ संशोधन गरी विज्ञापन बापतको रकममा ५० प्रतिशतसम्म कटौती गर्ने व्यवस्था गरिएको भन्दै आपत्ति जनाएको छ ।

कागज, मुद्रण सामग्री तथा सञ्चालन खर्च बढिरहेको र आर्थिक मन्दीको प्रभाव कायमै रहेका बेला छापा सञ्चारमाध्यमहरू आर्थिक संकटमा रहेको महासंघको भनाइ छ । यस्तो अवस्थामा विज्ञापनको रकम कटौती गर्ने निर्णयले विशेषगरी स्थानीय तथा मोफसलका सञ्चारमाध्यमलाई थप संकटमा पार्ने महासंघले जनाएको छ ।

आर्थिक वर्ष २०८३/०८४ को बजेट संघीय संसद्बाट पारित भइसकेपछि सञ्चारमाध्यमलाई उपलब्ध गराइने विज्ञापन भुक्तानीमा प्रतिकूल असर पर्ने गरी कार्यविधि संशोधन गर्नु व्यवहारिक र न्यायोचित नभएको महासंघको निष्कर्ष छ ।

महासंघले यस विषयमा केन्द्रीय समितिले पटक-पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको भए पनि माग सम्बोधन नगरी विज्ञापनसम्बन्धी बिल बुझ्ने प्रक्रिया अघि बढाइएको भन्दै आपत्ति जनाएको छ ।

आन्दोलनको पहिलो चरण अन्तर्गत लोककल्याणकारी विज्ञापनको भुक्तानी सम्बन्धी समस्या समाधान नभएसम्म तथा संशोधित कार्यविधि फिर्ता नभएसम्म जिल्ला हुलाक कार्यालयमा कुनै पनि छापा सञ्चारमाध्यमको बिल नबुझाउन महासंघले आग्रह गरेको हो ।

महासंघले आफ्ना माग बेवास्ता गर्दै बिल बुझ्ने प्रक्रिया अघि बढाइए जिल्ला हुलाक कार्यालय सिन्धुलीमा तालाबन्दीलगायत थप सशक्त आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिएको छ ।

प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको अधिकार तथा छापा सञ्चारमाध्यमको निरन्तरतासँग जोडिएको विषय भएकाले सम्बन्धित निकायले तत्काल सकारात्मक पहल गर्नुपर्ने महासंघको माग छ ।

ज्ञापनपत्र नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष बिमला पाण्डे,नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुलीका अध्यक्ष बाबुराम देवकोटा, सचिव नबिनबाबु अधिकारी लगायत जिल्लाका क्रियाशील पत्रकारहरूको सहभागितामा जिल्ला हुलाक कार्यालय सिन्धुलीका कार्यालय प्रमुख कुमार थापालाई बुझाइएको हो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *