सिन्धुलीमा बढ्दो सम्बन्धविच्छेद : विदेशदेखि सामाजिक सञ्जालसम्म
सिन्धुली/कुनै समय विवाहलाई जीवनभरको सम्बन्धका रूपमा हेरिन्थ्यो ।
वैवाहिक जीवनमा आउने सामान्य असमझदारीलाई परिवार, आफन्त र समाजको मध्यस्थताबाट समाधान गर्ने प्रयास हुन्थ्यो तर पछिल्लो समय परिस्थिति फेरिँदै गएको छ । सम्बन्धमा आएको दरार समाधान हुन नसक्दा दम्पतीहरू अदालतको ढोका सम्म पुग्ने क्रम बढ्दो छ ।
सिन्धुली जिल्ला अदालतको तथ्यांक अनुसार सम्बन्ध विच्छेदका मुद्दा पछिल्ला वर्षमा बढ्दै गएका छन् । आर्थिक वर्ष २०८०/८१ मा ३ सय २३ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०८१/८२ मा ३ सय २१ वटा मुद्दा दर्ता भए । आर्थिक वर्ष २०८२/८३ मा भने यो संख्या बढेर ४ सय ३८ पुगेको छ ।
तीन आर्थिक वर्षको तथ्यांक हेर्दा २०८०/८१ को तुलनामा २०८२/८३ सम्म आइपग्दम सम्बन्ध विच्छेदका मुद्दा १ सय १५ ले बढेको छ। पछिल्लो वर्षमा मात्रै अघिल्लो आर्थिक वर्षको तुलनामा १ सय १७ वटा बढी मुद्दा दर्ता भएका छन् ।
जिल्ला अदालतको अनुसार सिन्धुलीमा सम्बन्ध विच्छेद बढ्नुको महत्वपूर्ण कारण वैदेशिक रोजगारी देखिएको छ । जिल्लाका धेरै परिवारको आर्थिक आधार वैदेशिक रोजगारीसँग जोडिएको छ । घरको आर्थिक अवस्था सुधार्ने उद्देश्यले श्रीमान् वा श्रीमती विदेश जाने गरेका छन् । तर लामो समयसम्म हुने भौतिक दूरी, आपसी सम्पर्कमा कमी, विश्वासको संकट तथा पारिवारिक जिम्मेवारीमा देखिनेस समस्याले कतिपय वैवाहिक सम्बन्धमा समस्या निम्त्याउने गरेको छ ।
विदेशमा रहेका श्रीमान-श्रीमतीबीच लामो समयसम्म प्रत्यक्ष भेटघाट नहुनु र पारिवारिक जीवनमा दूरी बढ्दै जाँदा विवाद उत्पन्न हुने गरेको सरोकारवालाहरू बताउँछन् । कतिपय अवस्थामा विदेशमा रहेका व्यक्तिले परिवारलाई पर्याप्त समय तथा साथ दिन नसक्दा पनि सम्बन्धमा समस्या देखिन्छ । त्यसैगरी पछिल्लो समय मोबाइल फोन र सामाजिक सञ्जालको बढ्दो प्रयोगले पनि वैवाहिक सम्बन्धमा नयाँ चुनौती थपेको छ । सामाजिक सञ्जाल मार्फत हुने नयाँ चिनजान, गोप्य कुराकानी, शंका तथा त्यसबाट उत्पन्न अविश्वासले कतिपय दम्पतीबीच विवाद बढाउने र सम्बन्ध विच्छेद सम्ममा पुग्ने गरेको सरोकालाहरवारू बताउँछन् ।
जिल्ला अदालत सिन्धुलीको अनुसार जातीय आधारमा तुलना गर्दा सम्बन्ध विच्छेदका मुद्दामा दलित समुदायका सेवाग्राहीको संख्या तुलनात्मक रूपमा धेरै देखिएको छ । यसले सम्बन्ध विच्छेदलाई केवल व्यक्तिगत सम्बन्धको विषयका रूपमा मात्र नभई सामाजिक तथा आर्थिक अवस्थासँग जोडेर हेर्नुपर्ने देखाउँछ ।
सिन्धुलीमा नौवटा स्थानीय तहहरु छन् । तीमध्ये कमलामाई नगरपालिकाबाट सम्बन्ध विच्छेद सम्बन्धी मुद्दा तुलनात्मक रूपमा धेरै आउने गरेको जिल्ला अदालतले जनाएको छ । त्यसको विपरीत फिक्कल गाउँपालिकाबाट भने यस्ता मुद्दा सबैभन्दा कम आउने गरेको अदालतको तथ्यांक छ ।
स्थानीय तहअनुसार मुद्दाको संख्यामा देखिएको अन्तरका पछाडि जनसंख्या, बसाइँसराइ, वैदेशिक रोजगारीको अवस्था, सामाजिक संरचना, कानुनी पहुँच तथा सम्बन्ध विच्छेद प्रतिको सामाजिक स्वीकार्यता जस्ता विभिन्न कारण हुन सक्ने देखिन्छ ।
तीन वर्षमा ३ सय २३ बाट ४ सय ३८ पुगेको सम्बन्ध विच्छेदका मुद्दाको संख्या एउटा तथ्यांक मात्रै होइन । यसले सिन्धुलीका परिवारमा बदलिँदो सम्बन्ध, वैदेशिक रोजगारीले ल्याएको दूरी, प्रविधिको बढ्दो प्रभाव र बदलिँदो सामाजिक सोचबारे प्रश्नसमेत उठाएको छ ।
सम्बन्ध विच्छेद केहि हदसम्म न्यूनीकरण गर्नको लागि दम्पतीबीच आपसी समझदारी, विश्वास र प्रभावकारी संवाद आवश्यक रहेको र वैवाहिक जीवनमा देखिने आर्थिक समस्या, पारिवारिक हस्तक्षेप, अविश्वास तथा असमझदारीलाई समयमै छलफल गरी समाधान गर्न सके सम्बन्ध विच्छेदका घटना कम गर्न सकिने सरोकालाहरवारू बताउँछन्।


